चार लाखमा २४ वटा आईफोन १४ प्रो म्याक्स !
भैरहवामा आईफोन अवैध तवरले नेपाल भित्र्याउने नाममा सुरक्षाकर्मीहरुले चार लाख घूस खाएको आरोप लागेको छ । रुपन्देहीको बेलहिया पूर्वको कोटहीमाई मन्दिर क्षेत्रमा चैत २८ गते साँझपख बरामद गरिएको २४ थान आईफोन १४ प्रो म्याक्स भन्सार कार्यालयमा दाखिला गर्न नपठाएको पाइएपछि अहिले चार लाख घूसको काण्ड बाहिर आएको बताइन्छ ।
स्थानीय चिया पसल, रेस्टुरेन्ट, कफिसप सर्वत्र कोटहीमाई मन्दिर छेउमा बरामद आईफोनबारे चर्चा हुँदै आएको छ । स्रोतका अनुसार ती आईफोन छुटाउन तस्करले चार लाख रुपैयाँको चारो फालेको हो ।
चैत २८ गते साँझपख सेतो एफजेड मोटरसाइकलमा २४ थान आईफोन १४ प्रो म्याक्स नेपाल ल्याउँदै गरेको खबर सीमानामा खटिएका प्रहरीलाई पहिल्यै प्राप्त भएको बताइन्छ । सोही सूचनाको आधारमा प्रहरीको एउटा टोली बेलहिया बसपार्कमा मोटरसाइकल ढुकेर बसेको थियो । मोटरसाइकल चालक प्रहरी देख्ने बितिक्कै अन्यत्र मोडिएर कोटहीमाई मन्दिरतर्फ भागेका थिए ।
मोटरसाइकलमा ५० औं लाख मूल्य पर्ने मोबाइल बोकेको चालकरुपी तस्कर कोटहीमाईतर्फ भागेको खबर सुरक्षाकर्मीहरुबीच भुईंमा मट्टितले पोखिएझैँ निमेषभरमा फैलिएको बताइन्छ ।
तत्काल डन्डामा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मको टोली पनि त्यतै हुईंकियो । जाँदाजाँदै सशस्त्रको टोलीले सामान, मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको हो ।
त्यसपछि के भयो भन्नेबारे स्थानीय अनभिज्ञ थिए । ‘त्यसपछि भन्सार पठाइयो होला भनिएको तर भित्रभित्रै खेल अर्कै भएको पाइयो,’ उक्त घटनालाई नजिकबाट नियालेका एक जनाले बताए ।
सेतो एफजेड मोटरसाइकलमा नेपाल भित्रिएको ५० लाखभन्दा बढीको २४ वटा आईफोन सशस्त्रले बरामद गरे पनि हालसम्म भन्सारमा दाखिल गरिएको छैन ।
रुकसद नाम गरेका व्यक्तिले उक्त मोबाईल अवैध रुपमा नेपाल भित्र्याएका थिए । स्रोतका अनुसार चार लाख घुस बुझाएर मोबाइल लिएर रुकसाद आफ्नो बाटो लागेका हुन् ।
आईफोन १४ प्रो म्याक्सको नेपाली बजारमा मूल्य २ लाख १५ हजार रुपैयाँ छ । सशस्त्र प्रहरीको डन्डा बिओपी यतिबेला सीमा सुरक्षा गुल्ममा नाम परिवर्तन भएको छ । डिएसपीको कमान्ड अरुण शर्माले सम्हालेका छन् ।
गुल्मको मुख्य काम भन्सार छलेर नेपाल भित्रिने समान बरामद गर्नु तथा सीमावर्ती क्षेत्रको अवैध कारोबार रोक्नु हो । साढे ५९ किलोमीटर लामो रुपन्देहीको भारतीय सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रणको निम्ति २७ नम्बर सशस्त्रको हेडक्वार्टर र त्यस मातहत बिओपी र युनिट छन् ।
कोरोना महामारीमा सीमा क्षेत्रको आवतजावतमा उदाहरणीय काम गरेको सशस्त्रको चेकजाँचमा एउटा सुरक्षाकर्मीले अर्काे देख्नेगरेर खटाइएको थियो । तर पछिल्ला स्थानीय र आमनिर्वाचनताका सबै नियम भताभुङ्ग बनाइएको बताइन्छ ।
प्रतिनिधि सभाको निर्वाचनताका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला तस्करहरुको निम्ति मूलबाटो जस्तै थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको सीमावर्ती क्षेत्र रुपन्देही ३ बाट उम्मेदवार थिए । सिडिओ, नेपाल पुलिस, सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रदेश एवम् जिल्लाका हाकिमहरु उनको अघिपछि हिँड्न ब्यस्त भएपछि त्यहि समयमा तस्करहरु सीमामा मस्त रहेका हुन् ।
यो क्रम करिब ७ महिना चलेको थियो । त्यतिबेलादेखि तस्करहरु राम्रैसँग सलबलाउन थालेका हुन् । निर्वाचनको समयमा झैँ उनीहरुले तस्करी खुलमखुल्ला गराउन सशस्त्र र नेपाल प्रहरीका हाकिमहरुसँगको हिमचिम बढाउँदै छलफल गर्दै आएका थिए । परिणामस्वरुप आधा करोडको आईफोन ढुक्कसाथ नेपाल भित्रिएको हुनसक्ने आकलन गर्न कुनै गाह्रो छैन ।
टिप्पणीहरू