अटेरी उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
ऋषि भट्टराई
सरुवा बेवास्ता र अटेर गरेपछि लुम्बिनी प्रदेशका एक जना उपसचिवलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डेले मधेश प्रदेशको एउटा नगरपालिकामा गरिएको सरुवालाई बेवास्ता गरेका हुन् ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २३ गते लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत संघतर्फ समायोजन भएका उपसचिव महेश पाण्डेलाई काम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बाराको महागढीमाई नगरपालिकामा सरुवा गरेको थियो । मुख्यमन्त्रीको कार्यालयले चैत २८ गते स्वास्थ्य मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीमा सरुवा गरेको बताइन्छ ।
सोहीबमोजिम पाण्डे उक्त कार्यालयमा हाजिर भएपछि सामान्य प्रशासनले चैत्र २३ गतेको सरुवा अनुसार बाराको महागढीमाई नगरपालिकामा किन नगएको ? भनेर सोधनी गर्दै हिजो २४ घण्टे स्पष्टीकरण मागेको हो । नियमानुसार सामान्यले चैत २३ गते गरेको सरुवा बदर नभएको अवस्थामा पाण्डे अन्यत्र हाजिर हुन जान मिल्दैनथ्यो । तर मुख्यमन्त्रीको कार्यालयले जथाभावी सरुवा गरेपछि पाण्डे समस्यामा परेको बताइन्छ ।
पाण्डेले भने स्पष्टीकरणबारे बाहिर हल्ला सुनिएको बताए । ‘आधिकारिक रुपमा अहिलेसम्म मलाई कुनै जानकारी आएको छैन,’ उनको भनाइ छ ।
टिप्पणीहरू