राष्ट्रपति राति साढे ९ बजे काठमाडाैं आइपुग्ने
स्वास्थ्य उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कन लाग्नुभएको छ । उहाँ १२ दिनको उपचारपछि आज राति काठमाडौं आउन लाग्नुभएको बताइएको छ ।
गत ६ गते चार्टर उडानमा भारतको राजधानी दिल्ली पुगेर उपचार गराइएका राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले आज अस्पतालले डिस्चार्ज गरेको छ । अल इण्डिया इन्ष्टिच्युट अफ मेडिसिन्स (एम्स) मा भर्ना गरेर उपचार गराइएपछि राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उहाँ आज बेलुकी नेपाल वायुसेवा निगमको नियमित उडानमा आउन लाग्नुभएको हो । उहाँसँगै यसअघि चार्टर उडानमा गएको झण्डै डेढ दर्जनको संख्यामा रहेको टोली पनि फर्कंदैछ ।
टिप्पणीहरू