माननीयको विद्यालयमा बेथिति, हेडसरलाई लखेटेपछि गुरुहरु फुक्काफाल
-अन्जनकुमार
मुलुकका अधिकांश सरकारी विद्यालय बेथितिको दलदलमा फसेको छ । कुनै विद्यालयमा प्रधानाध्यापक छैनन्भ भने कुनैमा शिक्षक । प्रधानाध्यापक र शिक्षक दुवै भए पनि विद्यार्थीको पढाइस्तर खस्कँदो छ ।
मजदुरी गर्ने, किसान र निम्न आय भएका अभिभावकका झण्डै १३ सय छोराछोरी पढ्ने लमजुङको जनविकास विद्यालयको अवस्था पनि उस्तै छ । त्यतिधेरै विद्यार्थी भएको विद्यालय अहिले प्रधानाध्यापकविहीन छ ।
कूल ४३ जना शिक्षकमध्ये झण्डै तीन दर्जन ‘रुख छाप’ को रुपमा परिचित छन् । उनीहरुलाई काँग्रेसको झोला बोकेर भ्याइनभ्याइ भएको बताइन्छ । उनीहरु दुई समूहमा विभक्त भएकाले त्यहाँ पठनपाठन कम र झैझगडा धेरै हुने गरेको छ ।
विद्यालय सुधारका लागि प्रधानाध्यापक रत्नमान श्रेष्ठले सक्दो प्रयास गरेका हुन् । तर, तिनै काँग्रेसीको एक गुट र नेकपा एमाले समर्थित शिक्षकहरुको झुण्डले उनको खोइरो खनेपछि त्यो प्रयास बिफल भएको हो । श्रेष्ठलाई अनेक आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याइएको थियो ।
प्रशासनको आँखा अगाडि रहेको सदरमुकामको विद्यालयमा यतिसम्म बेथिति छ कि स्थानीयले छोराछोरी नपढाए पनि विद्यालयमा राजनीति भने गरिदिनुपर्छ । सुधारका अनेक प्रयत्न गरेका श्रेष्ठ आजित भएर जीतबहादुर कोइरालालाई जिम्मेवारी सुम्पिएपछि बेतलबी बिदामा क्यानडा गए । नाम जीतबहादुर भएपनि उनकोसमेत सुधारका प्रयासमा केही नलागेको भुक्तभोगीहरु बताउँछन् ।
अन्ततः हार स्वीकार्दै उनले विद्यालय व्यवस्थापनसमक्ष चार दिनअघि राजीनामा पत्र बुझाएका छन् । विद्यालयमा बढ्दो बेथितिको खबर सुनेपछि अनुगमनमा निस्किएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर भन्ने श्रीकृष्ण रिमालसँग औपचारिक पोशाकमा नआएका शिक्षकहरुको भनाभन नै परेको थियो । यता दुई साता गयल रहेका शिक्षकहरुले आफूखुसी हाजिरी धस्काइदिने पनि गर्दै आएका छन् । कतिपय हाजिर गरेर मर्स्याङ्दी क्याम्पसमा सञ्चालित परीक्षामा निरीक्षक बस्न जान्छन् भने कोही घरतिर । सँधै खाजा खाने समयसम्ममा विद्यालय नै रित्तो भइसक्ने एक विद्यार्थीले बताए ।
शिक्षकहरु धेरैजसो कक्षामा नआउने र आइहाले पनि नपढाउने ती विद्यार्थीको भनाइ छ । ‘बत्तिमुनिको अँध्यारो भनेझैं’ आफ्नो नाकैमा रहेको विद्यालयमा शिक्षकको यस्तो लापरवाही देख्दादेख्दै पनि नगरपालिकाको नेतृत्व चुपचाप बसेको छ ।
बेकामी शिक्षकलाई अदलबदल गर्ने अधिकार नगरपालिकासँग छ । तर, नगरपालिकाले यस विषयमा कुनै चासो नदेखाएको स्थानीय बताउँछन् । सोही विद्यालयमा अध्ययन गरेका भेषबहादुर पौडेल अहिले प्रदेशसभा माननीय छन् । त्यस्तै, काँग्रेसका कृष्णबहादुर अधिकारी र एमालेका सुभाष पौडेल जिल्ला सचिव छन् ।
जो जहाँ भए पनि शिक्षकहरुको मनपरीतन्त्रको विरोधमा बोल्ने आँट कसैमा देखिएको छैन । आँट गरेमा विभिन्न आरोप लगाएर फसाउने कार्य शिक्षकहरुले गर्ने भएकाले पनि उनीहरु मौन बसेको अर्थ लगाइएको छ ।
टिप्पणीहरू