काठमाडौं आएका विदेशी न्यायाधीशहरु धमाधम फर्कंदै
राजधानीमा बिहीबारदेखि हिजोसम्म आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी छिमेकी मुलुकका न्यायाधीशहरुको टोली स्वदेश फर्केको छ । वनजंगल, संरक्षित क्षेत्र र कानुन सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिएपछि केही विदेशी पाहुना आजै स्वदेश फर्केको बताइएको छ ।
आज एयर इण्डियाको उडान नम्बर एआई २१४ मा भारतीय सर्वोच्च अदालतका न्यायाधीश मुथुसामी मीनाक्षी सुन्द्रेश नेतृत्वको टोली बिहान साढे १० बजे नयाँ दिल्ली गएको छ । टोलीमा सर्वोच्च अदालतका रजिष्ट्रार महेश तानाजी पाटनकर र न्यायाधीश पत्नी शुभा सुन्द्रेश रहेको बताइएको छ ।
सोही उडानबाट भारतीय सेनाका लेफ्टिनेट जनरल पदम सिंह शेखावत पनि स्वदेश फर्केका छन् । शेखावत हिजो पोखराबाट भैरहवा हुँदै राति काठमाडौं आएका थिए ।
त्यसैगरी, श्रीलंकन एयरको उडान नम्बर युएल १८२ मा श्रीलंकाका न्यायाधीश पनि कोलम्बो गएका छन् । सोही कार्यक्रममा सहभागी त्यहाँको सर्वोच्च अदालतका न्यायाधीश यासन्था कोदागोदासहित तीन जनाको टोली दिउँसो पौने ३ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् ।
काठमाडौंबाट कोलम्बो उडेको सोही विमानमा माल्दिभ्सको सर्वोच्च अदालतका न्यायाधीश उज अलि रसिद नेतृत्वको तीन सदस्यीय टोली पनि स्वदेश प्रस्थान गरेको बताइएको छ ।
न्यायाधीशहरुको सम्मेलनमा बंगलादेश र पाकिस्तानका श्रीमानहरुले पनि सहभागिता जनाउनुभएकाे छ ।
टिप्पणीहरू