महिनावारी सुकेकी महिलाले जन्माइन् जुम्ल्याहा सन्तान
महिनावारी सुकेको पाँच वर्षपछि काठमाडौंकी एक महिलाले सन्तान जन्माएकी छन् । आइभीएफ प्रविधिमार्फत् उनले जुम्ल्याहा सन्तान जन्म दिएकी हुन् ।
नर्भिक अस्पतालको आइभीएफ सेन्टरमा ५२ वर्षीया ती महिलाले आइभीएफ प्रविधिमार्फत एकैसाथ दुई सन्तानलाई जन्म दिएको अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालका अनुसार बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनलाई गर्भावस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिँदै आएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूब बेबी विशेषज्ञ डा. नुतन शर्माले बताइन् ।
सामान्यतयाः बढ्दो उमेर समूहका महिलामा गर्भधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेरिन्छ । डा. शर्माका अनुसार ती महिलाको महिनावारी सुक्नुका साथै पाठेघरमा पनि मासु पलाएको थियो । जसको दूरबिनबाट गरिने शल्यक्रियामार्फत् पाठेघरको मासु झिकेर आइभीएफ प्रविधिबाट उपचार गरिएको हो ।
यसअघि पनि ५५ वर्षीय महिलाले नर्भिकमै आईभीएफ प्रविधिमार्फत सन्तान जन्माएकी थिइन । सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० वर्षको उमेर समूहलाई उत्तम मानिन्छ । तर, विभिन्न कारणले बढ्दो उमेर समूहका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्नुनपर्ने नर्भिकले जनाएको छ ।
अस्पतालका विज्ञहरुका अनुसार पछिल्लो छ महिनामा नर्भिकमा आइभीएफ गरेकामध्ये गर्भधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका छन् । त्यसैले, सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक नरहेको अस्पतालको भनाई छ ।
टिप्पणीहरू