भूगोल पार्कमा अनसन बसेका किसानले जुस पिए
सरकारले अनुदान नदिएर झुक्याएको भन्दै १० दिनदेखि अनसन बसेका नुवाकोटका श्रीराम घिमिरेले आज अनशन तोडेका छन् ।
सरकार र घिमिरेबीच पाँच बुँदे सहमतिपछि अनशन तोडिएको हो । आज साँझ अनसनस्थल काठमाडौँको भूगोलपार्क पुगेर कृषि मन्त्री डा. बेदुराम भुसालले घिमिरेलाई जुस पिलाएर अनसन तोडाउनु भएको हो । उहाँले सहमतिपत्र वाचन गरेर सुनाउँदै घिमिरेलाई फूलको माला र खादासमेत लगाइदिनुभएको छ ।
बैंकको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने, कृषि मल र विउबिजनमा सरकारले अनुदान दिनुपर्ने, कृषिमा १० प्रतिशत बजेट अनिवार्य छुट्याउनुपर्ने, किसानलाई कृषक परिचयपत्र उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई जस्तै किसानलाई पनि यातायात भाडामा छुट दिनुपर्नेलगायत माग राखेर नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय घिमिरे बैशाख ६ गतेदेखि अनसन बसेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत घिमिरेका माग र उनको अनसनप्रति विशेष चासो दिनुभएको थियो । सोही अनुसार कृषि मन्त्रालयले उनीसँग सहमति गरेको बताइएको छ ।
टिप्पणीहरू