लोकसेवा आयोगको डाटा गायब, मंसिर यताका सबै दरखास्त हरायो
राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण डाटा हराएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गर्ने भएको छ । आयोगको अनलाइन प्रणाली अवरुद्ध भएपछि यसअघि विज्ञापन गरिएका पदका लागि पुनः दरखास्त आह्वान गर्न लागिएको जनाइएको छ ।
गत फागुन २३ गतेदेखि (गभरमेण्ट इन्टिग्रेडेड डाटा सेन्टर) प्रणालीमा समस्या देखिएको उल्लेख गर्दै आयोगले आफ्ना सम्पूर्ण डाटा गायब भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार गत मंसिरदेखि प्रकाशित सम्पूर्ण विज्ञापनमा पेश भएका दरखास्तको विवरण भेट्न मुश्किल परेको छ ।
आयोगले मंसिरमा अप्राविधिकतर्फ शाखा अधिकृत वा सो सरहको पदका लागि विज्ञापन गरेको थियो । त्यस्तै, पुसमा अप्राविधिकतर्फ नायव सुब्बा वा सो सरह, माघमा प्राविधिकतर्फ नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौं तहको पदको लागि आवेदन माग गरिएको थियो ।
ती विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरण आयोगले भेट्न नसकेको प्रवक्ता सुवेदीको भनाइ छ । केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको बताउँदै उनले विज्ञापनका परीक्षाहरु सञ्चालन गर्न आयोगले वैकल्पिक योजनामा काम गरिरहेको जानकारी दिए ।
‘डाटा रिकभरीको प्रयास जारी रहेको भएतापनि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट कहिले सम्ममा के कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकोले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्व प्रकाशित उक्त विज्ञापनका परीक्षाहरु सञ्चालन गर्न आयोग वैकल्पिक योजनामा काम गरिरहेको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व प्रकाशित विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण भने सुरक्षित रहेको आयोगको दाबी छ । त्यसैका आधारमा दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारहरुलाई मात्र पुनः दरखास्त दिन आह्वान गर्ने र यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने तयारी भइरहेको बताइएको छ ।
टिप्पणीहरू