सुडानका ३० जना नेपाली सम्पर्कमा, डेढ दर्जन साउदी अरेबिया पुगे
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले सुडानको पछिल्लो द्वन्द्वमा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारको निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरुसँग सम्पर्क गरी उनीहरुको विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको जनाइएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म ३० जना राजदूतावासको सम्पर्कमा आएका छन् ।
पोर्ट सुडानमा रहेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानी जहाजबाट जेद्दा पुगिसकेका छन् । जेद्दामा रहेका उनीहरुलाई नेपाल फर्काउन आवश्यक सहजीकरणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
दूतावाससँग सम्पर्कमा रहेका अन्य ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरेका छन् भने एक जनालाई त्यहाँ पुर्याउन आवश्यक प्रक्रिया थालिएको छ ।
रोजगारदाता कम्पनीको सहयोगमा तीन जना पोर्ट सुडान पुगिसकेका छन् । तीमध्ये एक जना स्वेच्छाले होटेलमा बसेका र दुई जनालाई इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले सुडानमा रहेका सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सूचित गराएको छ । त्यस्तै, आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासमा सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
सुडानमा सेना र सशस्त्र अर्धसैनिक बलबीच हिंसात्मक लडाईं भइरहेको छ । राजधानी खार्तुमका सबै क्षेत्रमा हवाई आक्रमण र बमबारी भइरहेको बताइन्छ । पछिल्लो केही सातामा पाँच सय बढी सर्वसाधारणको मृत्यु र हजारौं घाइते भएका छन् ।
टिप्पणीहरू