बुटवलमा ई–रिक्सा तथा टेम्पो चालक महिलाको सम्मान
ऋषि भट्टराई
बुटवल उपमहानगरपालिकाले ई–रिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले नगरमा नियमानुसार सञ्चालनमा रहेका सवारी साधनका ३५ जना उत्कृष्ट महिला चालकलाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका ई–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताएका छन् ।
पाण्डेयले ई–रिक्सा र टेम्पो चालक महिलाको बीमाको तयारी गरिरहेको जानकारी दिँदै भने, ‘बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्न महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गरिनेछ ।’ बुटवलमा ई–रिक्सा र टेम्पो चालक महिलाहरु स्वःरोजगार बनेकोमा खुसी व्यक्त गरिएको छ ।
हिजो आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईं, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाललगायतले पनि धारणा राखेका थिए ।
टिप्पणीहरू