सरकार र महावीरबीच सात बुँदे सहमति, आजदेखि माइतीघरमा नसुत्ने

सरकार र महावीरबीच सात बुँदे सहमति, आजदेखि माइतीघरमा नसुत्ने

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेका पुन र सरकारका प्रतिनिधिबीच सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । 

पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हस्ताक्षर गरेको सहमतिपत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको सञ्चालनका लागि कानुन बनाउन संसदको आउँदो अधिवेशनमा विधेयक पेश गर्ने, पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्नेलगायत उल्लेख छ ।

 

सहमतिको पहिलो बुँदामै भनिएको छ, ‘अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने  ।’ 

साथै आगामी आर्थिक वर्षदेखि संङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ । योसँगै विभिन्न मागसहित गत शुक्रबारदेखि माइतीघर मण्डलामा सुरु भएको धर्ना पनि अन्त्य भएको छ । 

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री खड्का र मुख्य सचिव शंकरदास बैरागीलगायत सहभागी थिए भने आविष्कार केन्द्रको तर्फबाट पुनले वार्ता टोलीको नेतृत्व गरेका थिए ।

टिप्पणीहरू