नहर किनारमा अचेत पुरुष, २० वर्षे युवतीको लास घरमा

नहर किनारमा अचेत पुरुष, २० वर्षे युवतीको लास घरमा

कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ । 

कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११, भुजेला नहर किनारमा बेवारिस अवस्थामा एक पुरुषको लास भेटिएको हो । गहुँगोरो वर्णको अन्दाजी ५५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको र उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कालो पाइन्टमा खैरो सर्ट, कालै कलरको हाइनेक, निलो कलरको आस्कोट र टाउकोमा ढाका टोपी लगाएका पातलो शरीर कपाल र दारी जुंगा फुलेको मृत पुरुषको पहिचान हुन नसकेको बताइएको छ । शव सोही अस्पतालको शवगृहमा राखिएको छ ।

यता, बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर–२ बर्दहवामा २० वर्षीया प्रिती थारु गएराति १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जनाएको छ ।

टिप्पणीहरू