छोरा पक्राउ परेपछि टोपबहादुरको ‘फ्लाइट क्यान्सिल्ड’, सन्दीपलाई काठमाडौं जिल्ला अदालतमा उभ्याईंदै

छोरा पक्राउ परेपछि टोपबहादुरको ‘फ्लाइट क्यान्सिल्ड’, सन्दीपलाई काठमाडौं जिल्ला अदालतमा उभ्याईंदै

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने काण्ठमा संलग्न भएको आरोप लागेकामध्ये एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप हिजो राति पक्राउ परेका छन् । बुटवलमा पक्राउ परेका सन्दीपलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सन्दीपको अनुसन्धानको निम्ति म्याद थप गर्न जिल्ला अदालतमा लैजान लागिएको हो । उनलाई अहिले बिहान भैरहवाबाट विमानमा काठमाडौं ल्याएर बबरमहलस्थित अदालत पुर्याउने बताइएको छ ।

एमाले सांसदसमेत रहेका टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनी हिजो अर्घाखाँचीबाट बुटवलसम्म आए पनि बेलुकी साढे ८ बजे काठमाडौं फर्कने बुद्ध एअरको टिकट राति साढे ९ बजे सारेर बेखबर भएको बताइन्छ ।

हिजो बिहान पहिले गृह र अहिले उपराष्ट्रपति कार्यालयमा रहेका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए भने अस्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

यसअघि नक्कली शरणार्थी बनाउने गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, अशोक पोखरेल, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेका हुन् । बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । इन्द्रजितका छोरा निरज पनि शंकास्पद देखिएको काठमाडौं प्रहरीले जनाएको छ  । 

पक्राउ परेकाले दिएको प्रारम्भिक बयानको आधारमा राई, पाण्डे, रायमाझी र थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । हालसम्मको बयानमा सबैले एमाले उपाध्यक्षसमेत रहेका बादलले मन्त्रीस्तरीय निर्णयमा नीतिगत व्यवस्था गरेपछि काण्डको प्रक्रिया शुरु भएको संकेत गरेका छन् ।

टिप्पणीहरू