प्रहरीको व्यापक खोजीमा रहेका एमाले सचिव सडकमार्ग हुँदै मध्यरातमा राजधानी छिरे

प्रहरीको व्यापक खोजीमा रहेका एमाले सचिव सडकमार्ग हुँदै मध्यरातमा राजधानी छिरे

एमाले सचिव, पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी गएराति काठमाडौं छिरेका छन् । हिजो राति साढे ८ बजे भैरहवाबाट बुद्ध एअरको उडानमा काठमाडौं आउने योजनामा रहेका उनी राति साढे ९ बजेको उडानमा टिकट सारेर बेखबर भएका थिए ।

सोही समयमा छोरा सन्दीप बुटवलमा पक्राउ परेपछि रायमाझी रातारात सडकमार्गबाट काठमाडौं आइपुगेको बताइन्छ । अस्ति साँझ भैरहवा हुँदै अर्घाखाँची गएका सचिव रायमाझी हिजो दिनभर सभामुख देवराज घिमिरेसँगै जिल्लाको एउटा विद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

अस्ति सभामुखसँगै उता गएका उनी हिजो साँझ पनि सँगै आउने टिकट लिएका थिए । तर प्रहरीको पक्राउ पुर्जी जारी भएको सूचना र छोरा पक्राउको खबरपछि उडान छाडेर रायमाझी राति नै सडकमार्गबाट काठमाडौं आएका हुन् ।

यता रायमाझीलाई पक्रन हिजो राति काठमाडौं विमानस्थलमा प्रहरीको एउटा टोली तम्तयार भएर बसेको थियो । छोरालाई भने हिजो राति बुटवल प्रहरी कार्यालयको हिरासतमा राखेर अहिले बिहान साढे ९ बजे बुद्ध एअरको उडानमा काठमाडौं ल्याइएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्वमन्त्री रायमाझी, उनका छोरा सन्दीपलगायतको नाम मुछिएको छ । हिजो बिहान उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव टेकनारायण पाण्डे, अस्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र केही साताअघि अन्य पाँच जना पक्राउ परिसकेका छन् ।

प्रहरीका अनुसार बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने राईका छोरा पनि निगरानीमा छन् । हालसम्मको बयानका आधारमा पक्राउ परेका सबैले मन्त्रीबाट भएको नीतिगत व्यवस्थाको आधारमा उक्त कामको थालनी गरिएको संकेत गरेका हुन् ।

टिप्पणीहरू