राइड सेयरिङका दुई पाटा : यात्रुलाई सहज, राजस्व असहज

राइड सेयरिङका दुई पाटा : यात्रुलाई सहज, राजस्व असहज

पछिल्लो केही समययता काठमाडौं उपत्यकामा अनलाइन राइड सेयरिङ कम्पनीहरु खुल्ने क्रम बढेको छ । आफ्नो गन्तव्यमा पुग्न सहज हुने भएकाले अधिकांशले राइड सेयरिङमार्फत यात्रा गर्छन् । पछिल्लो समय राजधानीमा ‘पठाओ’ राइड सेयरिङमध्ये सबैभन्दा लोकप्रिय कम्पनी बनेको छ । 

बंगलादेशमा लोकप्रियता कमाएपछि नेपाल भित्रिएको पठाओसँग लाखौं यात्रु जोडिएका छन् । २०७५ सालदेखि सञ्चालनमा आएको पठाओले नेपालमा आफ्नो व्यापार चम्काइरहेको छ । छोटो अवधिमै चर्चित बनेको पठाओले छिटोछरितो सेवासुविधा दिन्छ । 

अनलाइन सिष्टम भएकाले यात्रुलाई यसले सहज बनाएको छ । ट्याक्सी चढ्नका लागिझैं गन्तव्यसम्म आइपुग्नुपर्ने बाध्यता छैन । यता, ट्याक्सीको गन्तव्यमा जान नमान्ने समस्या झेल्दै आएका यात्रु पठाओबाट निकै आकर्षित भएका छन् । 

झन् ट्याक्सी भाडा महँगो भनिरहेका यात्रुलाई त यसले थप राहत दिलाएको छ । हतार परेको बेलामा छिटोछरितो आफ्नो गन्तव्यमा पुग्न सजिलो हुने भएकाले पठाओ धेरैको रोजाइँमा पर्न सफल भएको हो । पठाओले नेपालमा आक्रामक बजार लिइसकेपछि अन्य राइड सेयरिङ कम्पनीहरु पनि धमाधम खुलिरहेका छन् । 

राइड सेयरिङबाट झण्डै दुई लाख रोजगार बनेका छन् । आफूलाई मनलागेको समयमा चलाएर पैसा कमाउन मिल्ने भएपछि राइडर बन्नेको संख्या ह्वात्तै बढेको हो । यी कम्पनीका कारण मुलुकमा बेरोजगारी कम हुँदै गएको छ । दुई पाङ्ग्रे सवारी साधनमार्फत् यात्रु बोक्दै आएको कम्पनीहरुले चार पाङ्ग्रे सेवा पनि सञ्चालन गरेका छन् । 

राइड सेयरिङ कम्पनीहरुले आफ्ना यात्रु बोकेर पैसा कमाउन थालेपछि ट्याक्सी व्यवसायीहरुले विरोध जनाए । काठमाडौं उपत्यकामा टुटल, पठाओलगायत अन्यले यात्रु बोक्न नपाउने भन्दै ट्याक्सी व्यवसायीहरुले पटकपटक आन्दोलन गरे । 

तर, उनीहरुको केही लागेन । अन्तिममा पछि हट्नैपर्यो । राइड सेयरिङ कम्पनीहरुले अझैपनि सेवा दिइरहेका छन् । झन् अहिले त नयाँनयाँ कम्पनी सञ्चालनमा आएका छन् । छिटोछरितो गन्तव्यमा पुर्याउने भएकाले पठाओले यात्रुलाई सहज भएकै मान्नुपर्छ । 

यद्यपि, सेवासुविधालाई मध्यनजरमा राखेर भन्ने हो भने पठाओलगायत अन्य राइड सेयरिङ कम्पनीले लिइरहेको भाडा चर्को छ । पठाओले ट्याक्सी पनि सञ्चालन गरेको छ । तर, त्यसको भाडा सरकारले निर्धारण गरेको भन्दा दोब्बर छ । पठाओमार्फत चलेका दुई पाङ्ग्रे सवारी साधनले प्रति किलोमिटर १८ रुपैयाँ ५० पैसा लिँदै आइरहेको छ । 

त्यस्तै, दुई रुपैयाँ बीमा र २० पैसा प्रति मीनेट ‘वेटिङ्ग चार्ज’ बापत लिने गरिएको छ । यातायात ऐन, २०४९ ले निजी प्लेटको सवारी साधनले यात्रु बोकेर पैसा कमाउन नपाउने व्यवस्था गरेको छ । त्यसैले मोटरसाइकल र स्कुटरको हकमा कुनै नियम बन्न सकेको छैन । निजी प्लेटका सवारी साधनलाई न सरकारले रोक लगाउन सकेको छ न नियमकानुनले बाँध्न । 

यता, ट्याक्सीले फ्ल्याग डाउनबापत १२५ रुपैयाँ लिने गरिएको छ । प्रति किलोमीटर ४९ रुपैयाँ तोकिएको पठाओ कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ट्याक्सीको हकमा दुई रुपैयाँ बीमा र दुई रुपैयाँ प्रतिमीनेट ‘वेटिङ्ग चार्ज’ निर्धारण गरिएको छ । जबकी सरकारले ट्याक्सी शुरु गर्नेबित्तिकै मीटरमा उठ्ने रकम ५० र प्रति किलोमिटर ५० रुपैयाँ निर्धारण गरेको छ । 

झट्ट सुन्दा पठाओको भाडा सस्तोजस्तो लाग्छ तर वास्तविकतामा त्यस्तो छैन । किन कि सेवासुविधाको हिसाबमा यो धेरै मँहगो छ । अधिकांश यात्रु दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्छन् । दुई पाङ्ग्रेले ट्याक्सीजस्तो सेवासुविधा दिन सक्दैन । 

उता, मोटरसाइकलमा दुर्घटनाको जोखिम उत्तिकै छ । पानी परेको बेलामा यात्रा गर्न निकै झण्झट हुन्छ । हावाहुरी र धुँवाधुलो पठाओका यात्रुले खेप्दै आएका छन् । यता, ट्याक्सीमा चार जना र पठाओमा चालक बाहेक एक जना मात्र यात्रा गर्न मिल्छ । पठाओमा सञ्चालित ट्याक्सीमा यात्रा गर्दा दोब्बर शुल्क पर्न जान्छ । 

पठाओमार्फत् राजस्व गुमाउँदै सरकार 

निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा लगाइनु गैरकानुनी हो । कानुनले रोक लगाए पनि पठाओलगायत सवारी साधनले यात्रु बोकेर पैसा कमाइरहेका छन् । तर, यसबाट सरकारले लाखौं राजस्व दिनप्रतिदिन गुमाइरहेको छ । सार्वजनिक प्रयोगका लागि दर्ता भएका कालो नम्बर प्लेट र निजी प्रयोगका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनले तिर्ने राजस्वमा निकै अन्तर छ । 
भाडाको गाडीले सरकारलाई प्रत्येक छ महिनामा जाँचपास र रोड परमिटको राजस्व तिर्नुपर्छ । त्यस्तै, यात्रु बोक्ने सवारी साधनले घरेलु र कम्पनीमा गएर पञ्जीकरण गरेको हुनुपर्छ । सार्वजनिक यातायातको भाडादर सरकारले तय गर्छ । तर, निजी गाडीले यी शीर्षकमा राजस्व तिर्नुपर्दैन । 

सरकारले राइड सेयरिङमार्फत् सञ्चालन हुने सवारी साधनलाई कालो प्लेटमा दर्ता गर्दा राजस्व उठ्छ । कालो नम्बर प्लेटको सवारी साधनको भाडा सरकारले तय गर्ने भएकाले अहिले राइड सेयरिङहरुले लिइरहेको भाडाभन्दा कम पर्न जान्छ । 

पठाओका कारण ट्याक्सी चालक मर्कामा परे : महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष अर्जुन गौतमले पठाओका कारण ट्याक्सी चालक भोकभाकै पर्न थालेका बताए । उनले गैरकानुनी रुपमा चलेको सेयर राइडिङ तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । उनले ट्याक्सी र मोटरसाइकललाई दाँज्न नमिल्ने सुनाए । 

‘२५–३० लाखको ट्याक्सीलाई डेढ–दुई लाखको मोटरसाइकलसँग तुलना गर्न मिल्छ ? हाम्रो लगानी धेरै छ । सेवासुविधा पनि मोटरसाइकलभन्दा त हामीले नै बढी दिएका छौं नि । त्यसमा कति जोखिम छ’, उनले भने, ‘यात्रुको बीमा गरिएको हुँदैन । ट्याक्सी चालक मीटरमा हिँड्न मान्दैनन् । यो कुरामा मेरो पनि सहमति छ । हामीले पटकपटक सुधारको निम्ति आग्रह गर्दै आएका छौं । तर यसको अर्थ नियम मिच्ने कार्य गर्नुचाँहि होइन् ।’

साथै, उनले तत्काल पठाओलगायत राइड सेयरिङ सञ्चालनमा रोक लगाउन माग गरेका छन् । 

ट्याक्सी व्यवसायीकै कारण राइड सेयरिङ बढेको हो : यातायात अभियन्ता 

यातायात अभियन्ता रामबहादुर थापा ट्याक्सी चालकहरुकै कारण पठाओ व्यवसाय फस्टाएको बताउँछन् । ट्याक्सी चालकहरुको यात्रुप्रतिको बानी व्यवहारमा सुधार नआउँदा निजी प्लेटले यात्रु बोक्न थालेको उनको ठहर छ । 

उनले राइड सेयरिङको विरोध गर्नुअघि आफ्नो आनीबानीमा परिवर्तन ल्याउन ट्याक्सी चालकहरुलाई सुझाव दिएका छन् । ट्याक्सी चालकको ठगीधन्दाका कारण यात्रुले अन्य विकल्प खोजेको उनको बुझाई छ । 
‘यात्रुले कहिलेसम्म सहन्छन्, सहने पनि हद हुन्छ । ट्याक्सी चालकले यात्रुलाई राम्रो वचन र व्यवहार गर्दैनन् । गन्तव्यमा जान मान्दैनन् । मीटरमा जान मान्दैनन् । सोही कारण यात्रुले विकल्प त खोजिहाल्छन् । त्यसैले पठाओलाई मात्र आरोप लगाएर केही हुँदैन, ट्याक्सी चालक नै पहिले सुध्रिनुपर्छ,’ उनले भने । 

यता, यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले पठाओलाई नियमन गर्न नयाँ ऐनकानुन नै बनाउनुपर्ने सुनाए । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय नयाँ कार्यविधि बनाउनतर्फ लागेको उनले जानकारी दिए ।

टिप्पणीहरू