सर्वोत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

सर्वोत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

मालिका सेवा समाज र मालिका पूर्वविद्यार्थी मञ्च, बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।  

समाजले सबै कक्षाका १४ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कारका रुपमा पोशाक वितरण गरेको हो । त्यस्तै, मञ्चले मालिका आधारभूत विद्यालयका विद्यार्थीलाई पुस्तकसमेत वितरण गरेको छ । 

समाजका अध्यक्ष जीवननाथ शर्माले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको बताए । यसले विद्यार्थीहरुलाई थप असल बन्न हौसला दिने उनको भनाइ छ । 

संस्थाले सामाजिक सेवाका विभिन्न कार्य गर्दै आएको जानकारी गराउँदै उनले भने, ‘सामाजिक सेवा गर्ने उद्देश्यका साथ गठन भएको संस्थाले यस क्षेत्रमा सबै खालको कार्यक्रम गर्दै आइरहेको छ । सबै क्षेत्रबाट साथ र समर्थनका कारण हामीहरु उत्साहित बनेका छौं ।’

लायन्स क्लब अफ कालीगण्डकीका निवर्तमान अध्यक्ष नारायण आचार्यले पोशाकका निम्ति सहयोग गरेको जानकारी दिइएको छ ।


गण्डकी प्रदेश सभाका निवर्तमान सांसद इन्द्रलाल सापकोटा, वडा नम्बर ५ का सम्पूर्ण जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, अभिभावकलगायतले कार्यक्रममा उपस्थिति जनाएका थिए । 

केही समयअघि समाजले घरघरमा पुगेर जेष्ठ नागरिकहरुको सम्मान गरेको थियो ।

टिप्पणीहरू