ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र एटीएम !

ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र एटीएम !

बागलुङ नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र बैंकको एटीएम बनाउने तयारी थालेको छ । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङको भवन भत्काएर कफी शप र बैंकको एटीएम बनाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका छन् । 

‘गाउँघरमा सिंहदरबार’ भन्ने नाराको दुरुपयोग बढेको भन्दै स्थानीयले चर्को आलोचना गरिरहेका छन् । एकातिर ट्राफिक कार्यालयको स्थायी संरचना छैन । ‘बिरालोले बच्चा सारेझैं’ कार्यालय सार्दै काम सञ्चालन गर्नुपर्ने बाध्यता छ । 

यस्तोमा ट्राफिक प्रहरी कार्यालय भत्काउन खोजेपछि विरोध हुनु स्वाभाविकै हो । बर्खायाम शुरु भएसँगै दिनहुँजसो पानी परिरहेको छ । यसबाट ट्राफिक प्रहरी कार्यालयले दिने सेवा प्रभावित बनेको छ । 

नगरपालिकाले हाल सञ्चालित भवनमा डोजर चलाएको छ । यसबाट सामानसमेत अस्तव्यस्त बनेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अर्को विकल्प नदिई जबरजस्ती कार्यालय भत्काउँदा समेत सरोकारवाला निकाय मुकदर्शक बनेको भन्दै ट्राफिक प्रहरीहरुले असन्तुष्टि पोखेका छन् । 

एक स्थानीयले भने, ‘ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो ? गृह मन्त्रालयको कि सुरक्षा निकाय आफैंले गर्नुपर्ने हो ? भवन नहुँदा ट्राफिक प्रहरीलाई मात्र नभई हामीलाई पनि सास्ती भएको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्रकुमार खड्काले भने यस विषयमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बताइन्छ । उनले नगरपालिकाले जहाँ व्यवस्थापन गर्छ त्यतै बस्नु भन्दै ट्राफिकलाई जवाफ दिएको विषय यतिबेला चर्चामा आएको छ ।

टिप्पणीहरू