गर्मीले धमाधम बन्द हुँदै विद्यालय

गर्मीले धमाधम बन्द हुँदै विद्यालय

केही दिनयता मुलुकमा गर्मी बढेको छ । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । खासगरी तराईका विभिन्न भूभागमा यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गर्न थालिएको छ । 

यसको असर विद्यालयमा सबैभन्दा धेरै पर्न गएको छ । गर्मीका कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयहरु बन्द हुन थालेका छन् । यसैबीच, सप्तरीको राजविराज नगरपालिकाले अत्याधिक गर्मीका कारण आगामी पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनले एक सूचना प्रकाशित गर्दै आजदेखि ज्येष्ठ २३ गतेसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन् । उनका अनुसार अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एंव विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो । 

यसैगरी, अत्याधिक गर्मीकै कारण रौतहटमा एक हप्ताका लागि सबै विद्यालय बन्द गरिने भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिएको हो । 

इकाई प्रमुख रामविनयकुमार सिंहले हिजो जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशनसहितको पत्र पठाएका थिए । सोही निर्देशनअनुसार आजदेखि विद्यालय बन्द भएका हुन् । साथै, वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता विद्यालय बन्द गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

यसअघि वीरगंज महानगरपालिकाले पनि वर्षे विदाबात कट्टा हुनेगरी विद्यालय बन्द गराउन निर्देशन दिएको थियो ।

 

टिप्पणीहरू