ज्वाइँले जग्गा हड्पेपछि ससुरा परलोकमा, तीन छोराको बिचल्ली
सिरहामा उब्जनीयुक्त डेढ बिगाहा जग्गा आफ्नै ज्वाइँले हड्पेपछि मानसिक रोगी बनेका एक जनाको ज्यान गएको छ । आफ्नो नाममा भएका जग्गा सबै गुमेपछि मानसिक रोगी बनेका बुबाको अकालमा मृत्यु पश्चात् तिनका सन्तानको बिल्लीबाठ भएको बताइन्छ ।
मृतकका तीनै जना छोराको भविष्य अन्यौलग्रस्त बनेको छ भने पुख्र्यौली सम्पत्ति फिर्ता गर्न संघर्षरत तीन भाइले उल्टै लाखौं रुपैयाँ बुझाउन परेको छ ।
के थियो घटना ?
कुरा वि.सं.२०६५ को हो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ७ का मुक्तिनाथ साहलाई एक मात्र छोरीज्वाइँले व्यापार व्यवसाय गर्ने प्रयोजनार्थ जग्गा धितोमा राखिदिन आग्रह गरे । छोरीको सुन्दर भविष्यको सपना देखेका उनले केही समयपछि जग्गा फिर्ता गरिदिने ज्वाइँको आश्वासनलाई नाईंनास्ती पनि गर्न सकेनन् ।
समाजमा वौद्धिक व्यक्तित्वको छबि बनाएका नेपाली काँग्रेसका पुराना नेतासमेत रहेका उनले ज्वाइँले भनेसरह ईन्द्रदेव साहको नाममा डेढ बिगाहा जग्गा पास गरिदिए । जग्गा पास गर्ने समयमा साहका दुई छोरा वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए । अर्को, एक भाइ भने भारतको बाबाधाम गएका थिए । घरमा कोही नभएको मौका छोपेर ज्वाइँले षड्यन्त्रकमो जाल बिच्छ्याएको चुरोकुरो उनले बुझ्नै सकेनन् ।
ज्वाइँ रामकुमार साह १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा बाहिर थिए । विदेशबाट फर्किएर उनले मुक्तिनाथको एक मात्रै छोरी रितादेवीसँग् विवाह गरेका हुन् । विवाहपश्चात् यतै बस्दै आएका उनले स्थानीयलाई विदेश पठाउने एजेण्टको रुपमा काम गरे । व्यवहारमा व्यापार व्यवसाय गर्नका लागि जग्गा मागेको सोचेका मुक्तिनाथ जग्गा हड्पेको थाहा पाइसकेपछि मानसिक रोगको शिकार बन्न थाले ।
उपचारको क्रममा उनको ६१ वर्षको उमेरमा अकालमा ज्यान गएको बताइन्छ । ‘जग्गाको टेन्सन लिँदालिँदै उहाँ मानसिक रोगी बन्नुभएको थियो । उपचारको क्रममा उहाँले अकालमा ज्यान गुमाउनुभयो’, माईला छोरा गणेशनारायण साहले भने ।
यसरी भयो षड्यन्त्रको पर्दाफास
पाँच वर्ष मलेसिया बसेर फर्किएका जेठो र कान्छो छोरा क्रमशः हेमन्दर, जितेन्दर र नेपालमै रहेका गणेशनारायणले स्वदेशमै बिजनेश गर्ने संयुक्त योजना बनाए । त्यसका लागि पुँजीको खाँचो परेको थियो । तीनै भाइले जग्गा धितो राखेर बैंकबाट ऋण लिने आफूहरुको योजना बुबालाई सुनाए ।
जवाफमा बुवाले भने, ‘जग्गा ज्वाइँको नाममा पास गरिसकेको छु ।’ यति भनेपछि उनीहरु छाँगाबाट खसेझैं भए । त्यसपछि जग्गाको विषयमा विवाद शुरु भयो । स्थानीय जनप्रतिनिधि र समाजका भद्रभलाद्मीसहितको ‘कचहरी’ बस्यो ।
छलफलको क्रममा रामकुमारले माईलो सालो गणेशनारायणसँग लेनदेन बाँकी रहेको बताए । सबै जनाको उपस्थिति रहेको बैठकले पैसा फिर्ता गरेपछि जग्गा पनि फिर्ता गर्नुपर्ने निश्कर्ष निकाल्यो ।
गणेशनारायण भन्छन्, ‘घरखर्च चलाउन भिनाजुसँग लिएको पैसा बैशाखमा कमल यादवमार्फत एक लाख ९५ हजार, एक लाख र दुई लाख २५ हजार गरी चार लाख २५ हजार, सन्तोष ठाकुरमार्फत एक लाख ९५ हजार, कौशलराममार्फत् एक लाख रुपैयाँ र आफूमार्फत ५० हजार गरी आठ लाख ६५ हजार रुपैयाँ बुझाइसकेको छु । तर पनि भिनाजुले जग्गा पास गरेका इन्द्रदेव साहले जग्गा फिर्ता गरेको छैन ।’
इन्द्रदेवले थप २० लाख दिएमा मात्र जग्गा फिर्ता गर्ने भनेको उनी बताउँछन् । पैसा बुझाउँदा बुझाउँदै दिक्क बनिसकेका उनले जिल्ला प्रशासन कार्यालय, सिरहामा हालै मीटरब्याजीको उजुरी दर्ता गराएका छन् । २४ कठ्ठा जग्गामध्ये १५ कठ्ठा भिनाजु र ईन्द्रदेवले अर्कैलाई बेचिसकेको उनको दाबी छ ।
को हुन् रामकुमार र ईन्द्रदेव ?
ज्वाइँ रामकुमार सप्तरीको कल्याणपुर निवासी हुन् । १० वर्ष दुबई बसेर आएका उनी विवाहपछि नेपालमै एजेण्टको काम गरिरहेका थिए । उनले विदेश पठाउने नाममा धेरैलाई ठगेको खुलेको छ । अहिले उनी सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा पसल सञ्चालन गरेर बसेका छन् ।
त्यस्तै, उनी चौधरी समुदायकी एक महिलासँथ ‘लिभिङ्ग टुगेदर’ मा बसेको कुरा पनि बाहिर आएको छ । मिर्चैयाका ईन्द्रदेव नामुद ठग रहेको प्रहरी प्रशासन स्रोतको दाबी छ । नेपाल लाइफ ईन्स्योरेन्सको एजेण्टका रुपमा उनले सयौंलाई ठगेको स्थानीयको आरोप छ । ‘उनी प्रहरीको अनुसन्धानमा छन् । उजुरीमा लगाइएको आरोपहरु पुष्टि हुनासाथ उनी पक्राउ पर्छन्,’ प्रहरी स्रोतले भन्यो । यस विषयमा जनआस्था सम्वाददाताले प्रतिक्रिया लिन खोज्दा दुवैको फोन उठेन ।
टिप्पणीहरू