बुटवलको आम्दा अस्पताललाई स्तरीय बनाइने

बुटवलको आम्दा अस्पताललाई स्तरीय बनाइने

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति हुने भएको छ । आम्दा इन्टरनेसनलसँग भएको समझदारपछि उक्त जानकारी दिइएको हो । 

समझदारीसँगै आम्दा अस्पताल तीन सय बेडको हुने छ । यसका लागि आम्दा इन्टरनेसनलले आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिपछि उक्त जानकारी दिइएको हो । 

आम्दा अस्पतालमा दुई सय बेड थपेर सेवा स्तरोन्नती गर्ने समझदारी भएको छ । जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेसनलका अध्यक्ष डा. शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्वअध्यक्ष डा. ऋषिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र बस्यालले सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

जसअनुसार आम्दा इन्टरनेसनलले अस्पतालको स्तरोन्नतिको निम्ति आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार त्रीपक्षीय  समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्नेछ । 

आम्दा अस्पताललाई तीन सय बेडमा स्तरोन्नतिका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्न आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने समझदारीसमेत भएको उनले बताए । एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटीको भ्रमणमा गएको टोलीले त्यहाँका नगरहरुले सञ्चालन गरेका अस्पतालको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गर्ने सहमति पनि गरेको प्रमुख पाण्डेयले जानकारी दिएका छन् । अस्पतालको स्तरोन्नतिपछि बुटवल क्षेत्रमा एउटा विशिष्टिकृत सेवाको स्तरीय अस्पताल हुने उनको विश्वास छ । 

गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरूको बुटवल भ्रमणका क्रममा अस्पताल स्तरोन्नतिका लागि सहमति भएको थियो । सोही सोही सहमतिबमोजिम आम्दा अस्पताललाई विशिष्टिकृत सेवासहितको स्तरीय अस्पताल बनाउन लागिएको हो । २०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शैयाबाट सुरु भएको अस्पतालमा हाल एक सय शैया पुगेको छ ।

टिप्पणीहरू