परस्त्रीसँग मस्ती गरेका जनप्रतिनिधिद्वारा श्रीमती र छोरीमाथि अत्याचार

परस्त्रीसँग मस्ती गरेका जनप्रतिनिधिद्वारा श्रीमती र छोरीमाथि अत्याचार

घरेलु  हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि आफैँ हिंसाको पीडक बनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण बनेका छन् ।

आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडाध्यक्ष गणेशप्रसाद महतोले दिएको पीडा सार्वजनिक गरेपछि घरेलु हिंसामा जनप्रतिनिधिको संलग्नता खुलासा भएको हो । १८ वर्षीया छोरी अल्पनाकुमारी महतोले आमा ललिता देवीलाई दिएको दुःखको विषयमा बुवालाई सम्झाउँदा उल्टै कुटपिट गरेको बताएकी छन् ।

‘बुवाको मोबाइलमा अस्वाभाविक हर्कतको विषयमा थाहा पाएपछि सोधखोज गर्दा बुवाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्, ‘घरमा खाना खान कम आउने, ममीको कोठामा नसुत्ने, काली भइस् भन्ने गर्नुहुन्थ्यो ।’

टिकटकमा परस्त्रीसँग नाच्ने र बुबाको हर्कत शंकास्पद देखिएपछि आमा र परिवारका अन्य सदस्यलाई समेत जानकारी गराएको उनले बताइन् । गत हप्ता ललिता देवीलाई अध्यक्ष महतोले कुटपिट  गरेपछि अहिले उनी माइतमा बस्दै आएकी भाइ श्यामसुन्दर महतोले बताए ।

अध्यक्ष महतोको अस्वाभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटकमा समेत सहायता मागेकी छन् । आमाको पक्षमा बोल्दा आफूले पनि कुटाइ खानुपरेको भन्दै उनले दुःखेसो गरिन् ।

अध्यक्ष महतोको घरेलु हिंसाको घटना यो नै पहिलो भने होइन । २०६४ सालमा पनि श्रीमती ललितालाई निर्घात कुटपिट गरेपछि प्रहरी कार्यालयमा मिलापत्र भएको थियो । मिलापत्र कागजमा श्रीमती र परिवारका सदस्यलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाइए पनि पुनः घटना दोहोर्याएको स्थानीय बताउँछन् ।

महतो भने छोरी र श्रीमतीले आरोप लगाएको जस्तो नभएको दाबी गर्छन् । परिवारका लागि आफूले दायित्व निर्वाह गरिरहेको उनले बताए ।

टिप्पणीहरू