आयल निगममा ब्रम्हलुट, अख्तियारको छुट

आयल निगममा ब्रम्हलुट, अख्तियारको छुट

आयल निगम यस्तो संस्था हो जसले अरबौं रुपैयाँ घाटा व्यहोरिरहेको छ । तर त्यहाँ कार्यरत केही कर्मचारी भने सँधै नाफामा देखिन्छन् । निगममा कार्यरत पियनदेखि विभिन्न फाँटका केही प्रभावशाली कर्मचारीको जीवनशैलीले पनि उक्त आशंका पुष्टि हुने गरेको बताइन्छ ।

यसको ज्वलन्त उदाहरणका रुपमा विराटनगर डिपोमा कार्यरत कर्मचारी रामकृष्ण श्रेष्ठको नाम धेरैले लिने गरेका छन् । इन्धन नापजाँचमा संलग्न श्रेष्ठमाथि अमलेखगञ्ज डिपोबाट इन्धन लोड गरेर डिपोमा अनलोड गर्ने ट्याङ्करसँग मिली हिसाब मिलाउने गरेको आरोप लाग्दै आएको छ ।  

तर,विराटनगरमा आलिशान भवन बनाएका उनी भन्छन्, ‘आयल निगमको चलखेलबारे धेरैलाई थाहा छ । म चोखो छु भनेर पनि भन्दिनँ । उठेको पैसा हिसाब भएर क-कसकोमा पुग्छ भनेर धेरैलाई थाहा भएकै कुरो हो । बैंकमा मेरो नामको खातामा कसैले पैसा जम्मा गर्दैमा मैले भ्रष्टाचार गरेको ठहर हुँदैन ।’
विराटनगर डिपोका कार्यालय प्रमुख पूर्ण रिजाल आफूमाथि लगाइएको आरोप झुठो रहेको बताउँछन् । श्रेष्ठमाथिको आरोपबारे भने आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले भने, ‘तत्काल यस विषयमा छानबिन गर्न लगाउँछु ।’

यता निगमको विराटनगर डिपोमा भएको ठगीधन्दालाई अख्तियारले समेत नजरअन्दाज गर्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी कार्यालयमा डिपोमा भएको अनियमितताविरुद्ध दुई दर्जन बढीले उजुरी दिइसकेका छन् । 

केही वर्षयता घाटामा रहेको आयल निगमको केन्द्रीय कार्यालयसहित मुलुकभर २४ वटा डिपो छन् । अन्य डिपोभन्दा अमलेखगञ्ज र थानकोट डिपो कर्मचारीहरुबीच मालदार मानिन्छन् ।

आठ सय ७२ दरबन्दी रहेको आयल निगममा हाल छ सय कर्मचारी कार्यरत छन् । जानकारहरुका अनुसार निगममा सबैभन्दा बढी लेनदेन ट्याङ्करमा लोड अनलोड गर्ने समयमा इन्धनको नापजाँचको क्रममा हुने गर्छ ।
 

टिप्पणीहरू