हनी ट्र्याप जताततै,लाहुरेलाई हैरानी,प्रहरीको बदनामी

हनी ट्र्याप जताततै,लाहुरेलाई हैरानी,प्रहरीको बदनामी

-अञ्जनकुमार 

मध्यराती कारागारबाट कैदीहरु भागेपछि सुरक्षामा खटिएका प्रहरीले जागिरबाट हात धुनुपर्ने अवस्था आएको थियो । तर,कारबाहीको अन्तिममा प्रदेश प्रहरी प्रमुखको अनुरोधपछि प्रहरी मुख्यालयले वरिष्ठ प्रहरी नायव निरीक्षकसहितको टोलीलाई सचेत गराएर छाडेको छ ।

प्रहरी हेडक्वार्टरले जिल्ला कारागार, लमजुङको सुरक्षामा खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक मोहनसिंह चेबेसहितको टोलीलाई निलम्बन र कारबाहीको लागि पत्र पठाउन ताकेता गरेको थियो । तर,गण्डकी प्रदेशका प्रहरी प्रमुख बुद्धिबहादुर गुरुङले ‘अभियुक्तहरु पक्राउ परिसकेकाले घर जान ठिक्क परेका सोझा चेबेको जागिर नखाइदिऊँ हजुर’ भन्दै अनुरोध गरेपछि जिल्ला कारागार लमजुङका सुरक्षाकर्मीहरु गइसकेको जागिरबाट जोगिएका छन् । 

गत हप्ता जिल्ला कारागार लमजुङबाट मध्यरात फरार भएका दुई जना कैदी बन्दीले नभेटाउन्जेल जिल्ला प्रहरी कार्यालयका प्रहरीलाई जसरी हायलकायल बनाएका थिए,त्योभन्दा बढी अहिले अनुसन्धानको क्रममा दिमाग खियाएको बताइन्छ ।

लामो समय भारतमा बसोबास गरेर नेपाल फर्केका मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेका विनोद बिक श्रीमती गोमाले अर्को बिहे गरेर हिँडेपछि गाउँकै बृद्धा करणी र डकैतीको आरोपमा जेल परे । उनको योजनामा कारागारबाट भागेका अर्का भगौडा चन्द्रबहादुर गुरुङको बयानी आरोपमा प्रहरीले अहिलेसम्म पत्यार मानेको छैन । 

‘मेरो बूढीसँगै बस्ने ?’ भन्ने बात लगाउँदै मिडियालाई बोलाउन फोन थिच्न थाले ।

बिक राम्रोसँग नेपाली पनि बोल्न जान्दैनन् । उसको दिमागले जेल ब्रेकसम्मको योजना बुन्नसक्छ भन्नेमा अनुसन्धानमा खटिएका प्रहरीलाई अझै विश्वास छैन । तर गुरुङले बारम्बार बिकमाथि आरोप लगाएका छन् ।

चन्द्रबहादुर पूर्वमाओवादी लडाकू हुनसक्ने प्रहरीको अनुमान छ । त्यसबारे हालसम्म केही नखुलाए पनि उसको शैलीले प्रहरीलाई लख काट्ने सुविधा भने दिएको छ । भागेकै दिन राति ११ बजे समातिएका गुरुङले बेसीशहर नगरपालिका–१, घिमिरेको मकैबारीमा बसेर उनले प्रहरीको सम्पूर्ण गतिविधि नियालेका  थिए । 

भोक र थकानले लखतरान भएपछि प्रहरी रोडमा चुपचाप बसेको १० मीनेटमा गुरुङ मकैबारीबाट बाटोमा निस्कँदै गर्दा प्रहरीको फन्दामा परे । डिएसपी प्रकाश श्रीमलले च्याप्पै समातेका गुरुङ भाग्न खोज्दा लडेका हुन् । त्यसक्रममा दाहिने हातमा घाउ लाग्यो ।

गुरुङविरुद्ध बैदाम प्रहरीमा उजुरी परेपछि कास्की प्रहरीलाई छक्काएर लमजुङ पसेका गुरुङको कहानी पनि कम रोचक छैन । गोर्खा चुम्नुब्री गाउँपालिका–२, घट्टेखोलाका श्रीमती र दुई सन्तानको बाउ ३७ वर्षीय चन्द्रबहादुर गुरूङले तनहुँ भिमादकी केशुमाया थापालाई सामाजिक सञ्जालमार्फत् नै साथी बनाए । सामाजिक सञ्जालबाटै बसेको मायाप्रेमले केशुको घरबार बिग्रियो । केशु र चन्द्रबहादुर पोखरामा सँगै बस्न थाले । 

सोही क्रममा केशुले गुरुङकै योजनाबमोजिम भारतीय सेनाका जागीरेलाई साथी बनाएर भेट्न बोलाइन् । राम्री युवतीले भेट्न बोलाएपछि लाहुरे पुगिहाले । पोखरा गैरापाटनका गुरुङ थरका लाहुरे केशुसँग उनकै कोठामा बसेर एउटा बियर नपिउँदै चन्द्रबहादुर आइपुगे । ‘मेरो बूढीसँगै बस्ने ?’ बात लगाउँदै मिडियालाई बोलाउन फोन थिच्न थाले । 

लाहुरे गुरुङ आफूले त्यस्तो कुनै गल्ती नगरेको बताउँदै ‘जिन्दगी बर्बाद हुन्छ’ भनी हात जोड्न थाले । चन्द्रबहादुरले १० लाखको डिमाण्ड राखेपछि छ लाखमा लाहुरे त्यहाँबाट उम्किए । केही समयपछि लाहुरे आफू हनी ट्र्यापमा परेको चाल पाएर बैदाम प्रहरी कास्कीमा उजुरी लिएर पुगे । त्यतिञ्जेलसम्म त्यहाँबाट उनीहरू फरार भइसकेका थिए । 

चन्द्रबहादुरले फेसबुकमार्फत् लमजुङ दोर्दीकी केसरी गुरुङसँग चिनजान गर्यो । लोग्नेसँग सम्बन्ध टुटाएर बसेकी गाउँपालिका नजिकै होटल चलाएकी केशरी आर्मीको लाहुरे बताउने चन्द्रबहादुरको जालमा फसिन् । चन्द्रबहादुरले केशरीलाई बिहे गर्छु भन्दै सानो सुनको औँठी दिएर इन्गेजमेन्ट पनि गरे । केशरीले एक तोलाको सिक्री लगाइदिएको अनुसन्धानको क्रममा खुलेको छ । 

केही समय बितेपछि गुरुङले आफूलाई समस्या परेकाले ६० हजारमा सिक्री बन्धक राख्न लागेको बताए । केशरीले त्यसो नगर्न आग्रह गर्दै बरु आफू ६० हजार दिन तयार रहेको बताइन् । ६० हजार दिएको महिना दिन नपुग्दै आमा बिरामी भएको र पैसा आइपुगिनसकेको भन्दै उनै केशुमायालाई आमा बनाएर बोल्न दिए । केशुले पनि छोरोको अहिले पैसा नआएको आफू बिरामी भएर काठमाडौं आएको नाटक गरिन् । केशरीले अहिले ५० हजार मात्र रहेको उल्लेख गर्दै खातामा हालिदिएको भोलिपल्टदेखि सम्पर्कमा रहेनन् । 

केशरीले त्यसपछि शंका लागेर जिल्ला प्रहरी कार्यालयमा आफू ठगिएको भन्दै उजुरी दिइन् । उनकै उजुरीको आधारमा गत वैशाख ६ गते पक्राउ परेका केशु र चन्द्र अदालतले जनही क्रमशः तीन लाख र ५० हजार धरौटी माग गर्दा बुझाउन नसकेपछि जेल चलान भएका थिए । 

केशुमायाँलाई जेलमै थन्काएर भागेका चन्द्रबहादुरले हालसम्म गल्ती महशुस गरेका छैनन् । उल्टै दोष जति अर्काको थाप्लोमा थुपारेर चोखो बन्ने दाउमा देखिए । उनले बलात्कारकै मुद्दामा जेल परेका अर्का अशोक तामाङलाई पनि मुछेको अनुसन्धानबाट खुलेको छ । एक हप्ताको अनुसन्धानमा कारागारका अधिकांश कैदीबन्दीको बयान लिइयो । कसैले पनि भगौडाहरुको योजनाबारे चाल नपाएको बताए । मध्यरातमा भागेका भगौडा भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

टिप्पणीहरू