कहाँ लुके ढोरपाटनका मेयर र उनकाे परिवार ?
-राजेशचन्द्र राजभण्डारी
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एक अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेका ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत रहेका देवकुमार नेपाली बेपत्ता भएको झण्डै एक महिना बित्न लाग्दासमेत कुनै अत्तोपत्तो छैन ।
बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकामा सहकारीको सेवा केन्द्र सञ्चालन गरेर सर्वसाधारणलाई आकर्षक ब्याजको प्रलोभनमा संकलन गरेको अर्बौं रूपैयाँ जोखिममा परेको छ । तरलता अभाव भन्दै बचत रकम फिर्ता गर्न अनाकानी गरेपछि सहकारीका अध्यक्ष नेपाली रातारात प्रहरी प्रशासनको आँखा छलेर बेपत्ता हुँदा समेत उनको खोजबिन भएको छैन । अध्यक्ष तथा मेयरसँगै उनका श्रीमती र छोरा पनि रातारात बेपत्ता भएका हुन् ।
सहकारीका बचतकर्ताको रकम आफ्नो सम्पत्ति बेचेर भएपनि फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएका नेपाली एकाएक बेपत्ता भएपछि सयौं बचतकर्ता बिचल्लीमा पर्नुको विकल्प छैन । उनीहरुले नेपालीको कथनी र करनीमा फरक देखिएपछि बचत रकम फिर्ता गराउन प्रहरी प्रशासनमा उजुरी हालेको बताए ।
केही वर्षदेखि राजनीतिमा सक्रिय उनी गरिब र दलित जनताको भगवानको रूपमा परिचय बनाएका नेपालीले अहिले तिनैको बिचल्ली बनाएका छन् । फरार अघिसम्म उनले जनाएका अनेक प्रतिबद्धता अहिले पानीको फोका साबित भएको छ ।
सहकारीको उद्घाटन गर्न प्रमुख जिल्ला अधिकारीलगायत टोलीलाई हेलिकोप्टर चढाएर लगेका थिए । त्यसपछि एकाएक चर्चामा आएका नेपालीले हजारौंलाई भ्रममा पारेर सहकारी सञ्चालक हेलिकोप्टर चढ्न अनि चढाउन सक्षम रहेको नारा अघि सारेका थिए । ती सबै नारा र कर्तुत कालान्तरमा जनता ठग्ने औंजार बनेको हो ।
ढोरपाटन नगरपालिकामा एमालेको तर्फबाट दोस्रो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएपछि बागलुङ सदरमुकाममा करोडौं रूपैयाँ लगानीमा सहकारी भवन निर्माण गरे । त्यसपछि स्थानीय बचतकर्ता ढुक्क भएका थिए ।
गत पुस महिनामा भएको सहकारीको साधारणसभामा अध्यक्षता गर्दै बचतकर्तालाई आफ्नो बचतबारे आशंका भएमा दुई घण्टामा रकम फिर्ता गर्ने उद्घोष गरेर मेयरले सबैको आँखामा छारो हालेका थिए । एकजना जनप्रतिनिधि रातारात बेपत्ता हुँदा र जनताको अर्बौं रूपैयाँ हिनामिना गर्दासमेत अहिलेसम्म उनी कहाँ छन्, कुन अवस्थामा छन् भन्ने कुराको भेउ प्रहरी प्रशासनले पाएको देखिँदैन । उनलाई केही दिनभित्र पक्रने बताए पनि प्रहरीले त्यसतर्फ कुनै पहल नगरेको स्थानीयको आरोप छ ।
गृहमन्त्रालयले अध्यक्ष नेपालीसहित सात जनालाई मुलुक बाहिर जान रोक लगाएको छ । उनीहरु सबैको राहदानी रोक्का गरिएको छ । तर, उनीहरु नेपालमै लुकेका छन् कि छिमेकी भारत हुँदै अर्कै पासपोर्टमा विदेश पुगे भन्नेबारे पनि दुई थरी आशंका छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादलदेखि धेरै नेताको पहुँचमा रहेका नेपालीलाई यो घटनापछि एमाले गण्डकी प्रदेश कमिटी सदस्यबाट हटाउने काम भएको छ । सहकारीको सिद्धान्त विपरीत संस्था र बचतकर्ताको रकम धरापमा पर्दापनि राज्यका सम्बन्धित निकाय मौन हुनुलाई रहस्यमय ठानिएको छ ।
टिप्पणीहरू