टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने

टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउने कर्मचारीलाई कारबाही गर्ने भएको छ । जेठ १९ गते गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा कर्मचारीका लागि सात बुँदे निर्देशन जारी गरेसँगै मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउन रोक लगाएको हो । 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कमलप्रसाद भट्टराईले कार्यालय समयमा कार्यालयको पोशाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको जानकारी दिए । 

उनले भने, ‘कार्यालयसँग सम्बन्धित कामबारे टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं । यदि कुनै निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।’ 

पछिल्लो समय निजामती कर्मचारीले आफ्नो पदको गाम्भीर्यता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृङ्खल भिडियोहरु पोष्ट गर्ने गरेको गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू