अभियुक्त पत्रकारको मोबाइल बोकेर भ्याली एआइजी दुबई गएको आरोप

अभियुक्त पत्रकारको मोबाइल बोकेर भ्याली एआइजी दुबई गएको आरोप

काठमाण्डौ उपत्यका हेर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवाली यतिखेर दुबई भ्रमणमा छन् । तर, उनैको साथमा अहिले नेपाल टेलिकमको सिमकार्ड हालिएका तीन वटा मोबाइल सेट रहेको बताइएको छ । उनी आफ्नो निजी नम्बरको मोबाइल सेट र सरकारी कागजात किर्तेमा २५ दिन थुनिएर धरौटीमा अदालतबाट छुटेका एक जना ‘पत्रकार’ को दुई वटा सेट बोकेर दुबई उडेको आरोप लागेको छ ।

पृष्ठभूमि पत्रकारिता नभए पनि मदनबाबु भण्डारी स्वयमलाई प्रहरी वृत्तमा प्रहरीका हाकिमनिकट पत्रकार भनी चिन्ने गरिन्छ । तर उनी पेशाले यातायात क्षेत्रका हुन् । उनै भण्डारीको दुई वटा मोबाइल सेट एआइजीले गत हप्ता दुबई लगेको आरोप लागेको हो ।

भण्डारी तत्कालीन नवराज सिलवाल समूहका सहयोगीको रुपमा प्रहरी गुटबन्दीमा सँलग्न रहेको कतिपयको बुझाइ छ । सर्वेन्द्र खनालहरु नेतृत्वमा आएपछि उनलाई प्रहरी मुख्यालयबाट लगभग बाहेक गरिएको थियो । तर यसअघिका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भने मन पराएकै बुझिन्छ ।  

राजनीतिक खेलकुदमा निकै दौडने भण्डारी डिआइजी अशोक सिंहको प्रमाणपत्र विवादमा पनि तानिएका थिए । प्रहरीको कर्मचारी प्रशासनबाट सिंहको कागजात थुतेर उनले छरपष्ट पारेको आरोप त्यतिबेलै लागेको थियो । यता सिंहको जागिर पनि सोही कारणले गयो । 

उता श्यामलाल ज्ञवालीविरुद्ध मदन भण्डारीकै पहलमा अख्तियारमा उजुर पर्यो । सम्भवतः भुटानी प्रकरण सतहमा नआएको भए ज्ञवालीको  जागिर २०७९ सालमै अख्तियारले  सकाइदिने अनुमान थियो । उक्त उजुरी तामेलीमा गएपछि आफूविरुद्ध  प्रतिशोध साँधिएको एकै भेगक  मदन भण्डारीको गुनासो छ । 

यसबीच एआइजी ज्ञवालीकी श्रीमतीसहित केही प्रहरी अधिकृतमाथि काठमाडौंका क्यासिनोबाट उठतीपुठ्ती गरेको हल्ला चलाउने काममा पनि भण्डारी सँलग्न रहेको र एसएसपी जीवन श्रेष्ठलाई मानव बेचविखनबाट काठमाडौं प्रहरी परिसरमा सरुवा गर्न लागिएको खबर चुहाउने काम त्यहीबेला भयो । त्यसको सूत्रधार पनि भण्डारी नै रहेको  पत्ता लाग्यो । एसएसपी श्रेष्ठ गृहमन्त्री नारायणकाजी श्रेष्ठको गाउँले भतिजो रहेकाले पनि उक्त हल्लाले बल पाउने नै भयो ।

यी सबै प्रमाण भेटिएपछि उनै मदनलाई विमानस्थलबाट पक्राउ गरेर सरकारी कागज किर्तेमा थुनियो । ल्यापटप र मोबाइल  जफत गरी परीक्षणको लागि मोबाइल सेट फरेन्सिक ल्याबमा पठाइयो । 

उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ । 

हिरासतबाट छुटेपछि प्रहरीले सामान फिर्ता नगरेको भन्दै भण्डारीले काठमाडौं जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हाले । अदालतले रिहा भएका भण्डारीलाई सामान बुझाउन आदेश दियो । 

शुक्रबारको उक्त आदेश प्रहरी हेडक्वार्टरमा बुझाइएको छ ।  यसैमा भण्डारी भन्छन्, ‘आईफोन १२ र प्रोम्याक्स १४ मेरा फोन हुन् । प्रहरीले छोरीले बोक्ने आइप्याड र ल्यापटपसमेत लगेको छ,जसमध्ये दुइटा फोन एआइजीले दुबई लिएर जानुभएको छ ।’

भण्डारीमाथि ऊबेलाका डिआइजी नवराज सिल्वाललाई आइजिपी बनाउन पनि  कासमूलगायत सरकारी कागजात कीर्ते गरेको आरोप छ । सिलवालको कार्य सम्पादन मूल्याङ्कन कीर्ते भएको बताउँदै प्रहरी महानिरीक्षकको सचिवालयस्थित उच्च श्रोतले भनेको छ, ‘भण्डारी पर्दा बाहिर बसेर प्रहरीभित्र चलखेल गर्ने व्यक्ति हुन् । उनले कान्छी श्रीमतीपट्टीबाट जन्मेको बच्चालाई पनि सरकारी कागजात किर्ते गरी साँगास्थित प्रहरी स्कूलमा भर्ना गरेको र बहुविवाहलाई छोपछाप गरेको पाइएको छ । ’
 

टिप्पणीहरू