ताप्लेजुङमा यसो गरे कसो होला ?

ताप्लेजुङमा यसो गरे कसो होला ?

-कमलप्रसाद भट्टराई

ताप्लेजुङ फलफूल खेतीका लागि उपयुक्त वातावरण भएको जिल्लामध्येको एक हो । यहाँको हावापानी विविधतायुक्त छ । कावेली, तमोर किनार र अन्य खोलाका किनारमा तराईमा पाइने अनेक फलफूल लगाउन सकिन्छ । पहाडी भेगमा माथि उक्लिँदै जाँदा स्थानीय हावापानी र त्यस क्षेत्रलाई सुहाउने फलफूल पनि पाइन्छ । 

हिमाली क्षेत्रमा पाइने जडीबुटीको समेत यहाँ खेती गर्न सकिने सम्भावना प्रचुर छ । जिल्लामा व्यावसायिक फलफूल खेतीको निम्ति उपयुक्त मौसम छ । भौगोलिक स्थानअनुसार फलफूल खेती गरेर ताप्लेजुङलाई फलफूलको भण्डार क्षेत्र बनाउन सकिने विशेषज्ञहरु बताउँछन् । 

विशेषतः कावेली, तमोर र अन्य नदी किनारमा आँप, कटहर, लिची, मेवा, केरा, अम्बा, अनारलगायत फलफूलको खेती गर्न सकिने सम्भावना छ । समुन्द्री सतहबाट एक हजार मीटरमाथि सुन्तला, कागती, नास्पाती, आरुबखडा, चुच्चे ओखर, लप्सी, हलुवाबेद, खुर्पानी, मुन्तला, जुनार, एभोकाडो, कफी, अनार, जामूनो र अंगुरको खेती गर्न सकिन्छ । 

तापक्रम, भीरका काख र डाँडा जमिनहरुको अवस्था हेरेर ताप्लेजुङलाई फलफूलको पकेट क्षेत्र बनाउन सकिने प्राविधिकहरुको भनाई छ । माथिल्लो क्षेत्रमा एक हजार पाँच सयदेखि तीन हजार मीटरको उचाइमा स्याउ, युरोपेली नास्पाती, ओखर, किवी, कागती, बदाम, काठे बदाम, चेरी, भुर्इंचुक, जैतुन आदि फलफूल र चिया खेती फस्टाउने देखिन्छ । 

त्यसैगरी, दुई हजार पाँच सय मीटरमाथिको भूभागमा चिराइतो, लौठसल्ला, पाखनवद्, सतुवा, ठूलो ओखतीलगायत जडीबुटी खेती गर्न सकिन्छ । तीन हजार पाँच सयदेखि चार हजारमाथि कुट्की, जटामसी, भूतकेश, (सहस्रजरा) पदमचालजस्ता अनेक जडीबुटी लगाउन सकिने अवस्था छ । 

ताप्लेजुङमा फलफूल खेतीको सम्भावनापछि त्यसको बजार व्यवस्थापनको विषय पनि उठ्ने गरेको छ । खेतीसँगै यहाँ धेरै समस्या पनि छन् । दुर्गम जिल्ला भएकाले ढुवानी, लगानी, प्राकृतिक रोग र तिनको उपचार, प्राविधिक, बजारलगायत समस्याले फलफूल खेतीमा बाधा पुर्याउने अवस्था पनि टड्कारो छ ।

कृषिका विविध समस्यालाई दृढ इच्छाशक्ति लिएर सबै पक्षबाट काम गरिएको अवस्थामा न्यून गर्न नसकिने भन्ने होइन । दुर्गम क्षेत्र र ढुवानी समस्या पहिलेभन्दा एक हदसम्म कम भएको छ ।

जिल्लाका सबै गाउँपालिकामा कच्ची सडक सञ्जाल पुगेको छ । बाँकी केही वडामा सडक पुग्नासाथ ढुवानीको समस्या तत्काल हट्ने अवस्था छ । तर, लगानी मुख्य समस्याको रुपमा देखिएको छ । फलफूल खेतीमा गरिएको लगानी उठाउन वर्षौं कुर्नुपर्ने हुन्छ । सोही कारण किसानहरु के रोप्ने ? भन्ने कुरामै सोचमग्न छन् ।

सस्तो ब्याजमा ऋण र उत्पादन नहुञ्जेलका लागि अन्नबालीको जोहो गर्नुपर्ने बाध्यता छ । राज्यले प्राविधिक सहयोग र सल्लाहको व्यवस्था गर्न सकेमा यो समस्या निराकरण हुन्छ । कृषि क्षेत्रमा दिईंदै आएको अनुदान हटाएर सस्तो ब्याजमा ऋण दिइएको अवस्थामा हाल भइरहेको भ्रष्टाचारको समस्या क्रमशः कम हुने निश्चित छ । सस्तो ब्याजमा ऋण पाएको अवस्थामा कृषकहरुलाई समेत लगानी गर्न सहज हुन्छ ।  

त्यसैगरी जिल्लामा प्राकृतिक समस्याहरु पनि उत्तिकै छन् । बाढी, असिना, हावाहुरी, वन्यजन्तुलगायतले अन्नबाली नष्ट गर्छन् । यसका लागि स्थान विशेषअनुसार बाली छनौट, आवश्यक रेखदेख, विज्ञको सल्लाह सुझाव तथा मुख्य गरेर कृषि विमालाई भरपर्दो र स्पष्ट बनाउनुपर्छ ।

फलफूल खेतीमा लाग्ने रोग र उपचार पनि प्रमुख समस्यामै पर्छ । यसका लागि सामान्य कर्मचारीको सट्टा अध्ययन–अनुसन्धान, खोज र समस्याको निदान गर्नसक्ने दक्ष प्राविधिक राज्यले व्यवस्थापन गर्नुपर्छ । हरेक जिल्लामा आवश्यकताअनुसार फलफूलसँग सम्बन्धित विज्ञहरुको समूह बनाएर रोग र त्यसको निदानबारे खोजतलास हुनुपर्छ । यसमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहनेमा दुईमत छैन । 

रोग र बजारको अभावले फलफूल खेती निरुत्साहित भएको कृषकहरुको गुनासो छ । यो समस्यालाई जरैबाट समाधान गर्न सर्वप्रथम राज्य उत्तरदायी बन्नैपर्छ । त्यस्तै, जनशक्तिको पनि मध्यनजर गर्न निकै जरुरी भइसकेको छ । यसमा प्राविधिक दक्ष जनशक्ति र फिल्डमा काम गर्ने स्थानीय जनशक्ति मुख्य हुन् । 

स्थानीय जनशक्ति अहिले सबैभन्दा ठूलो समस्या बनेको छ ।  युवाशक्ति धमाधम विदेशिँदा ग्रामीण भेगमा जनशक्तिको चरम अभाव देखिन थालेको छ । युवाहरुलाई आफ्नै मुलुकमा बसेर केही गरौं भन्ने रुचीतर्फ आकर्षित तुल्याउन ढिलो भइसकेको छ । विदेशमा गरेको दुःख यहाँ गर्दा नकमाउने अवस्था पनि छैन । तर, कृषि, मजदुरी गरेर यहाँ पनि राम्रै आम्दानी गर्न सकिने आधार विश्वास सरकारले युवा पुस्तामा दिलाउन ढिलो भइसकेको छ ।

सरकारले यीलगायतका वातावरण बनाउन सकेमा देशको जनशक्ति र कृषि सँगसँगै अघि बढ्ने देखिन्छ । यता, बजारसँग ढुवानीलाई जोड्दा उत्पादित वस्तुको अवस्था हेर्नुपर्छ । कुन उत्पादन कति दिनसम्म सुरक्षित राख्न सकिन्छ ? भनेर पहिल्यै आकलन गर्नुपर्छ । ढुवानी र बजारको उपयुक्त तवरले विश्लेषण गर्न नसक्दा कृषिमा ठूलो क्षति भइरहेको छ । 

त्यसैले हाम्रो उत्पादनको टिकाउपन, ढुवानी समय र बजारलाई पहिले ध्यान दिनुपर्छ । कृषिलाई उद्योगसँग जोड्न सके झनै राम्रो हुने छ । फलफूलबाट जुस, वाइनलगायत प्रशोधित उत्पादन बजार पठाउन सके बिग्रिने सम्भावना कम हुन्छ भने रोजगारीको अवसरसँगै विदेशी मुद्रामा आम्दानीसमेत बढ्ने छ ।

टिप्पणीहरू