यी हुन् करोडौंको अवैध कारोबार गर्नेहरु

यी हुन् करोडौंको अवैध कारोबार गर्नेहरु

‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा रकम संकलन गर्ने र गराउने गिरोह पक्राउ परेको छ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने ‘बेटिङ्ग एप’ मार्फत सट्टेबाजी गर्न रकम संकलन गर्ने–गराउने र क्रिप्टो करेन्सी ट्रेडमा सक्रिय पाँच जनाको टोली समातिएको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलाली घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय दिनेश खड्का, काभ्रेपलाञ्चोक घर भई चाबहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागार्जुन नगरपालिकास्थित बिसी क्याप स्कुल बस्ने २४ वर्षीय आशिष लामिछानेलाई पक्राउ गरेको छ । 

उनीहरुले विभिन्न व्यक्तिको नाममा खाता खोलेर अवैध कारोबार चलाउँदै आएका थिए । दिनेश खड्काले रामविलास डि थारु, तेजबहादुर ठयात खड्का, नबिन चौधरीलगायतका कागजातहरु प्रयोग गरी विभिन्न बैंकमा ६३ वटा खाता खोलेका थिए । 

त्यसमध्ये १२ वटा खाताबाट हालसम्म ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै, उनले जंगल, पिंकी, पिन्टा, गुल्लुलगायत नामको कनेक्ट आईपीएस अकाउन्ट खोलेरसमेत कारोबार गरेको पाइएको हो । 

अनिताले आफ्नो मोबाइलमा ‘बाइनेन्स’ खाता खोलेर युएसडी खरिद गर्ने गरेको पाइएको छ । अनुसन्धानको क्रममा दिपेशले विभिन्न ई–सेवा नम्बरमार्फत ५९ लाख २९ हजार रुपैयाँको कारोबार गरेको खुलेको छ । साथै, उनले माछापुच्छ«े बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंकलगायतमा पाँच करोड ५४ लाख ६६ हजार बढीको कारोबार गरेको देखिएको छ । 

उनले क्रिप्टो करेन्सी ट्रेड र ‘बाइनेन्स’ खाता पनि चलाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । यता, दिनेश चन्दले प्रभु बैंकको खाताबाट ४५ लाख रुपैयाँ, आशिषले एनआईसी, ग्लोबल आईएमई र महालक्ष्मी विकास बैंकमार्फत दुई करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार गरेका छन् । 

हिजो पक्राउ परेका उनीहरुको साथबाट विभिन्न सेवा प्रदायकका ३४ थान सिमकार्ड, चार थान ल्यापटप, छ थान डायरी, सात थान मोबाइल, छ थान नागरिकताको प्रतिलिपि, विभिन्न बैंकका १४ थान चेकबुक, पाँच थान एटीएम र दुई थान राउटर बरामद गरिएको छ । 

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न–गराउन नहुने कसूरमा थप अनुसन्धान एवं कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू