मन्त्री र सचिवको दिमाग घुमाउने ती सुब्बा साहेब

मन्त्री र सचिवको दिमाग  घुमाउने ती सुब्बा साहेब

नक्कली भुटानी शरणार्थी काण्ड भटाभट छरपष्ट हुन थालेपछि  इलाका प्रशासन कार्यालय दमकका नायव सुब्बा सुरेन्द्रराज दाहाल एकाएक मिडियामा छाएका छन् । पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत १८ जना प्रहरी हिरासतमा पुगेसङ्गै दाहाल पीडित कर्मचारीको रुपमा मिडियामा छाउन थालेका हुन् भने अदालतमा बहस हुन थालेपछि चाहिँ उनको वास्तविक रुप बल्ल खुल्दैछ । यसवीच उनलाई कतिपय सञ्चारगृहले  नक्कली शरणार्थी काण्डको सेटिङमा असहमति जनाएवापत गृह मन्त्रालयले ताप्लेजुङ सरुवा गरिदिएको खबरसमेत महत्वका साथ छापेका थिए ।

अहिले अदालतमा प्रतिवादीहरुको जवाफी बहस भइरहँदा जनआस्थाले फेला पारेको ३२ मीनेट लामो टेलिफोन कुराकानीमार्फत दाहालको खेलोफड्को सबै छरपस्ट भएको छ । ‘उनै दाहाल मास्टर माइण्ड रहेछन् । तर पछि आफूलाई ताप्लेजुङ पठाइयो भन्ने बहानावाजी बनाए । उसलाई सरुवा गरियो भनिएको पनि नाटक मात्रै रहेछ,’ गृह मन्त्रालयका एक जना उच्चपदस्थ कर्मचारीले जनआस्थालाई बताए ।

स्रोतका अनुसार ताप्लेजुङ जानुअघि दाहालले काठमाडौंमा आएर एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङलाई झापा र मोरङमा रहेका शरणार्थीहरुको अवस्था, पछिल्लो विवरणबारे सुनाएका थिए । इलाम घर र पाँचथर मावली भएका उनले त्यसबारेको प्रतिवेदन नै उहाँलाई बुझाएको निकटस्थहरुलाई बताएका थिए । 

कहिले गौरादह त कहिले इलाका प्रशासन कार्यालय,उर्लावारी झापाबाट ताप्लेजुङ सरुवा गराएको कागजमा जनिए पनि त्यसमा सत्यता भने नरहेको खुलेको छ । उनको सरुवा कागजमा देखिन्छ तर व्यवहारमा त्यस्तो पाइन्न । आफूलाई एमाले निकट भन्दै हिँडेका उनले गत आमनिर्वाचनमा पूर्वको धेरै जिल्लाका कमरेडहरुलाई सहयोग गरेका थिए । 

हाल काभ्रेपलाञ्चोकमा सहायक सिडिओ रहेका महेश्वर पोखरेल फणिन्द्र पोखरेलका भाइ हुन् । फणिन्द्र गृह मन्त्रालयमा यसअघि बालकृष्ण खाँण र रवि लामिछानेको पालाका प्रवक्ता र शान्ति सुरक्षा महाशाखा प्रमुख थिए । उनै पोखरेलका भाइ महेश्वरले आमनिर्वाचनअघि ताप्लेजुङमा सिडिओ छँदा आफू कट्टर काँग्रेस भएकाले गठबन्धनलाई जिताउनुपर्ने सर्कुलर छ भनेर भाषण गरेका थिए । पोखरेलको सोही अडियो सुरेन्द्रले ताप्लेजुङमा सार्वजनिक गरिदिए । 

शरणार्थी काण्डका नाइके सानु भण्डारीसँगको सँवादमा सुरेन्द्रले आफूहरुले सुरक्षा र गोपनीयताका खातिर एकार्काको विरोधीजस्तो अभिनय गर्ने र अरुका सामु गाली गरेको देखाउने बताएका थिए ।

यअसघि ताप्लेजुङमा सरुवा भएको भनिएका उनै दाहाल एकाएक राजधानी काठमाडौंको लक्ष्मी मार्गमा आएर शरणार्थीको ढड्डा आदानप्रदानमा संलग्न रहेको पाइयो । शरणार्थी काण्डको सबै कागजी काम तमाम गरेपछि उनी काठमाडौंबाट नेपाल वायुसेवाको उडानमा ताप्लेजुङ गए,र आफूलाई एमालेको कार्यकर्ता भएकाले गठबन्धन सरकारले पेलेको गुनासो गर्न थाले । साँझको जमघटमा काँग्रेस र माओवादीलाई देखाइदिने समेत भन्न थाले ।

दाहालसँग धेरै पटक साँझको रमझममा सामेल एक जनाले भने, ‘मोरङ वा झापाबाट सरुवा भएर ताप्लेजुङ जाने कुनै पनि कर्मचारीको एक मात्र माध्यम सडक मार्ग हो । ऊ ताप्लेजुङ जान कुनै पनि हालतमा काठमाडौं आउँदैन । तर दाहाल राजधानी आएर यताको भेटघाट र कागजी काम तमाम गरेपछि चुनाव प्रचारका निम्ति विमानमा ताप्लेजुङ गएको देखिन्छ ।

उनले धेरै जनासँग धेरै पटक निकै ठूला कुरा गरेकोसमेत सुन्नमा आएको छ । टेलिफोन वार्तामा उनले भनेका छन्, ‘भुटानी शरणार्थी मामिलामा मबाहेक अरु कोही जानकार छ ? टर्च बालेर खोजे पनि म जत्तिको फेला पर्दैन ।’

ताप्लेजुङमा नासु दाहाललाई निकै नजिकबाट व्यहोरेका एक जना स्थानीय कमरेडले भने, ‘साँझको खानपिन गाढा हुँदै गएपछि भुटानी शरणार्थी काण्डको एक्सक्लुसिभ कुरो मलाई  थाहा छ भन्थे । एमाले कमरेडहरुसँग बस्दा केपी ओली,सुवास नेम्वाङ, टोपबहादुर सबै मेरै हुन् भन्थे । काँग्रेस र माओवादीहरुसँग बस्दा बालकृष्ण खाँणलगायतसँग उत्पात राम्रो सम्बन्ध रहेको बताउँथे ।’

टिप्पणीहरू