सिपाही कुट्ने इन्सपेक्टरको जागिर सिध्दिँदै

झापामा अस्ति राती ड्युटीका सिपाही र हवल्दारलाई पानीमा चोपल्दै चुटेर ताण्डव नृत्य प्रदर्शन गरेका सशस्त्र प्रहरी बलका निरीक्षक नवप्रभात राईको जागिर जाने भएको छ । रातको समय ड्युटीमा रहेका गोरु,भैंसी तस्करी गराएको भनी खोलामा चोबल्दै बाँसको भाटाले भकुर्दा गाउँले उल्टेर समातिएका उनलाई सशस्त्र मुख्यालयले  सेवाबाट बर्खास्त गर्नुअघि निलम्बनको निम्ति हिजो गृह मन्त्रालयमा पत्राचार गरेको बुझिएको छ ।

इन्सपेक्टर राई प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधनको भतिज नाताका हुन् । उनी बराह बाहिनी सुनसरीबाट घुमुवाको रूपमा सूचना सँकलन गर्न खटिएका थिए । उनीसँगै अस्ति दिउँसो सादा पोशाकमा प्रहरी जवान रामसुन्दर तामाङ र जीवन बाँस्तोला पनि झापा पुगेको बुझिएको छ ।

दिनभर मादक पदार्थ सेवन गरेर राति झापाको सीमामा रहेका ६ वटा बिओपीका १५ जना प्रहरीलाई राई,तामाङ र बास्तोला मिली पानीमा चोबल्दै बाँसको भाटाले हिर्काएका थिए । उक्त घटनामा आधा दर्जन सशस्त्र प्रहरी घाइते भएका छन् । कतिपय सिपाही स्थानीय नै भएको र जङ्गली हात्ती  कुर्न बसेका साथीहरुले तिनलाई सादा पोशाकका  अपरिचितले कुटिरहेको देखेपछि उनीहरुलाई बचाएका थिए ।

घटनापछि पक्राउ परेका राईसहित तीनै जनामाथि झापास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणले अनुसन्धान र विभागीय कारवाही अघि बढाएको बताइन्छ । यस प्रकरणमा सँलग्न तल्लो दर्जाका दुई जनाको जागिर उतैबाट चट् हुने निश्चित छ भने इन्स्पेक्टरको बर्खास्तगीका लागि हेडक्वार्टरले हिजै गृहलाई पत्राचार गरेको छ ।

उता घटना अनुसन्धानको निम्ति बराह बाहिनीले एसपी विक्रम हुमागाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन कमिटी गठन गरेको छ । यता एआइजी सीपी गौतमको नेतृत्वमा मुख्यालय हल्चोकमा छुट्टै छानबिन कमिटी बनेको छ । कमिटीमा डिआईजी कुलबहादुर नेम्वाङ र एसपी छबि पाण्डे सदस्य छन् ।

सोही कमिटीको प्रारम्भिक अनुसन्धान र छानबिनबाट इन्सपेक्टर निलम्बनको निम्ति हिजै गृह मन्त्रालयमा पत्र लेखिएको हो । आज हुने निलम्बनपछि राई बर्खास्त हुने निश्चित झैँ रहेको बताइन्छ । सशस्त्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै शुध्दिकरण अभियान चालेकाले पनि राईको उद्दण्डतालाई माफी गर्न नसकिने स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘प्रहरी अधिकृतले सुराकी गर्नु एउटा कुरा हो । फोटो खिच्नु पनि ठीकै होला । तर,कार्यस्थलमा ड्युटीमा रहेका निर्दोषलाई रातको समय पानीमा चोबलेर बाँसको भाटाले कुट्ने आँट कहाँबाट तिनलाई आयो ? किन त्यसो गरियो ? यो सोचनीय छ । ’

टिप्पणीहरू