नक्कली शरणार्थी प्रकरणमा बहस सकियो, आजै आदेश आउने
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ ठगी प्रकरणको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज सरकारी वकिलले जवाफी बहस सकेपछि थुनछेक बहस सकिएको हो । बहस सकिएसँगै अब यो मुद्धामा न्यौपानेले आजै आदेश सुनाउने सम्भावना छ ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत १८ जनासहित ३० जनाविरुद्ध विभिन्न चारवटा कसूरमा मुद्दा चलाइएको छ ।
पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने र साधारण तारेखमा छाड्ने कुनैपनि आदेश अदालतले आज गर्न सक्नेछ । फरार १२ जनाको हकमा भने उनीहरु अदालतमा उपस्थित भएपछि बयान लिएर पुन: थुनछेक बहस हुनेछ ।
टिप्पणीहरू