बचतकर्ताको अर्बौ रकम लिएर सञ्चालक बेपत्ता भएपछि दुई सहकारीविरुद्ध प्रहरीले माग्यो उजुरी

बचतकर्ताको अर्बौ रकम लिएर सञ्चालक बेपत्ता भएपछि दुई सहकारीविरुद्ध प्रहरीले माग्यो उजुरी

जिल्ला प्रहरी कार्यालय, कास्कीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन आग्रह गरेको छ । 

पोखरा महानगरपालिका वडा नम्बर ५, पर्स्याङ र वडा नम्बर १४, चाउथे शाखामा निक्षेप जम्मा गरेका शिवशिखरका पीडित बचतकर्ताहरुलाई उजुरी दिन कास्की प्रहरीले आह्वान गरेको हो । 

कार्यालयले सूचना जारी गर्दै उक्त सहकारी संस्थाका पदाधिकारीहरुले निक्षेपकर्ताहरुको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको व्यापक गुनासो आएको जनाएको छ । सहकारीका सञ्चालकहरुलाई कारबाही गर्नुपर्ने मागसहित केही निक्षेपकर्ताले उजुरी दिइसकेको उल्लेख गर्दै कार्यालयले बाँकी पीडितलाई नागरिकता, सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेण्ट, मुद्दती प्रमाण पत्रलगायतका प्रमाणको सक्कलका साथ उजुरी दिन भनेको छ । 

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखरका सञ्चालकहरु अर्बौं रुपैयाँ अपचलन गरेर फरार भएपछि प्रहरीमा उजुरी दिनेको ओइरो लागेको छ । त्यस्तै, ईमेज सहकारीका बचतकर्तालाई पनि उजुरी दिन भनिएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा कार्यालय रहेको सहकारीविरुद्ध जाहेरी दरखास्त दर्ता भइसकेको जानकारी गराउँदै प्रहरीले बाँकी रहेका बचतकर्ताहरुलाई आफूसंग भएको प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न सूचित गराएको छ ।
 

टिप्पणीहरू