भुटान काण्डमा भएभरका भिआइपीको दिमाग घुमाउने सुब्बाले फेरि घुमाए कलम
नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका ३० जना प्रतिवादीमध्ये भिआइपीहरुसहित १६ जना हिजो राति जेल चलान भएका छन् । दुई जना नगद धरौटीमा छुटेका छन् । फरार १२ जनाको खोजी भइरहेको छ ।
जिल्ला अदालत काठमाडौंमा भएको २० दिन लामो थुनछेक बहस,सरकारी वकिलको जिरह,प्रतिवादीका कानुन व्यवसायीको प्रतिरक्षापछि हिजो साँझ न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस प्रकरणको प्रारम्भिक टुंगो लागेको छ । यसअघि गत चैत र वैशाखमा आरोपितहरु भटाभट पक्राउ पर्न थालेपछि इलाका प्रशासन कार्यालय दमकका नायव सुब्बा सुरेन्द्रराज दाहाल एकाएक मूलधारको मिडियामा छाएका थिए ।
पूर्वप्रधानमन्त्री,पूर्वगृहमन्त्री, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत डेढ दर्जन आरोपित प्रहरी हिरासतमा पुगेपछि दाहाल पीडित कर्मचारीको रुपमा मिडियामा छाउन थाले । तर अदालतमा बहस हुन थालेसङ्गै उनको वास्तविक रुप र भूमिका खुल्दै गयो । कतिपय सञ्चारगृहले नक्कली शरणार्थी काण्डको सेटिङमा असहमति जनाएवापत गृह मन्त्रालयले ताप्लेजुङ सरुवा गरिदिएको खबरसमेत महत्वका साथ छापेपछि एकाएक उनी ‘महान’ठहरिए ।
३२ मीनेट लामो टेलिफोन कुराकानीमार्फत् दाहालको खेलोफड्को सबै जनआस्था साप्ताहिकको गत बुधबारको अंक र जनआस्था अनलाइनमा छरपस्ट भयो । उक्त काण्डका धेरै जना मास्टरमाइण्डमध्ये उनी पनि एक रहेको अडियो र बहसले खुलायो ।
सोही समाचार प्रकाशित भएपछि नायव सुब्बा दाहालले इलाका प्रशासन कार्यालय,दमकको ठेगानाबाट जनआस्थालाई तीन पृष्ठ लामो खण्डन पठाएका छन् । प्रेस काउन्सिल नेपाललाई आफूसम्बन्धी समाचार खण्डन गराइदिन बोधार्थ पनि दिएका छन् । तर,प्राप्त खण्डनमा केही महत्वपूर्ण विषय र पक्षलाई जानाजान लुकाएको पाइएको छ । कतिपय विषयलाई उनले नजानिँदो किसिमले स्वीकारेका छन् ।
‘यकिन मिति थाहा नभएको २०७८ असार/श्रावण हुनसक्छ पन्थी प्रतिवेदन मन्त्रालयमार्फत् आएको हो भनी सानु भण्डारीबाट देखेको र प्राप्त गरेको हो,’भन्दै उनले अगाडि लेखेका छन्, ‘एक्कासी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे सरबाट फोन आई म मन्त्रालयमा गएको हो,२०७८ असोज महिनामा ।’
दाहालको उक्त अभिव्यक्तिले एउटा गम्भीर आशंका उत्पन्न गराएको छ । एउटा नायव सुब्बा तहको कर्मचारीलाई मन पेट नछामी सचिव त्यो पनि गृह मन्त्रालयका हाकिमले सोझै किन फोन गरेर बोलाए होलान् ? दाहालले जनआस्थालाई पठाएको खण्डनको दोस्रो पृष्ठ,दोस्रो पाराग्राफमा लेखेका छन्, ‘कसैको धम्की आउँदैन,नडराउनुस्,टेन्सन नलिनु,काम गर्नु बरु त्यो ४२९ के हो भन्नुभएको थियो ।’
३२ मीनेट लामो टेलिफोन वार्ता सानु भण्डारीसँग गर्नुको कारणबारे उनी केटाकेटी तर्क गर्दै भन्छन्,‘मैले केभन्दा मलाई सहज हुन्छ र फोनको कुरा सकिन्छ भन्ने सन्दर्भमा विना मोलाहिजामा बोलिएको हो ।’
सचिवसँग गृह मन्त्रालयमा त्यति कुरा गरेर कार्यथलो झापा पुगेका उनलाई सचिवले केही दिनपछि पुनः फोन गरेको उनैले स्वीकारेका छन् । सचिव पाण्डेको भनाई उल्लेख गर्दै सुब्बा भन्छन्,‘सुरेन्द्रजी,केशव दुलाल मन्त्रीज्यूका मानिस रहेछन्,कुरा सुनिदिनुपर्यो ।’ यो वार्तालापको अर्थ के हुनसक्छ ? अहिले त्यही विषयमा जेल चलान भएका मन्त्री,सचिवसँगै त्यो लाइनमा कुरा गरेका दाहालले आफूलाई गाईको गहुँत जत्तिकै चोखो छु भनेर दाबी गरेको विषयलाई अरुले कसरी बुझ्ने ?
उनले त्यसपछि सानु भण्डारीसँग भएको ३२ मीनेटको टेलिफोन सँवादलाई पनि नकार्न सकेका छैनन् । बरु रातको समय आएको फोनमा भएको वार्ताका कतिपय शंकास्पद कुराको प्रतिरक्षा नै गरेका छन् । भण्डारीसँगको टेलिफोन वार्ताबारे दाहाल भन्छन्,‘तुरुन्त गर्नु,भोलि पर्सि सक्नु भनिएको थियो ।’ सचिवले मन्त्रीजीको मान्छे भन्ने,मन्त्रीजीको मान्छेले दाहालसँग तत्काल काम सम्पन्न गर्न निर्देशन दिने र अहिले उक्त विषय अदालतमा पुगेपछि आफूले गलत गर्नबाट रोकेको भन्ने दाहालको अभिव्यक्ति कतैबाट पनि पुष्टि हुन नसक्ने सरकारी वकिलहरुको भनाई छ ।
उनले सरुवा भएर ताप्लेजुङ जानुअघि काठमाडौंमा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई झापा र मोरङमा रहेका शरणार्थीहरुको अवस्था,पछिल्लो विवरणबारे नसुनाएको दाबी गरेका छन् । तर इलाम घर र पाँचथर मावली भएका उनले त्यसबारेको प्रतिवेदन नै बुझाएको निकटस्थहरुलाई ताप्लेजुङ पुगेर बताएको प्रमाण जनआस्थासङ्ग सुरक्षित छ ।
भुटानी प्रकरणमा हिरासतमा रहेकाहरु जेल गएकै दिन काभ्रेपलाञ्चोकको सहायक सिडिओबाट तानिएका महेश्वर पोखरेलले आमनिर्वाचनअघि ताप्लेजुङमा सिडिओ छँदा आफू कट्टर काँग्रेस भएकाले गठबन्धनलाई जिताउनुपर्ने सर्कुलर छ भनेर पिकनिकमा भाषण गरेको दाहालले खण्डनमा उल्लेख गरेका छन् ।
आफूलाई इमान्दार कर्मचारीको रुपमा उल्लेख गरेका दाहालले टेलिफोन वार्तामा सहजताको लागि रास्ट्रको गोपनीयता र इज्जतको धज्जी उडाएको सगर्व बताउनुलाई सामान्य ढंगले लिन मिल्दैन ।
टिप्पणीहरू