बढी परिमाणमा पेट्रोलियम पदार्थ बेच्ने पम्पमा तालाबन्दी
जिल्ला अनुगमन समिति, रुपन्देहीले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्पहरु सिल गरेको छ । समितिले मापदण्डविपरीतका पेट्रोल पम्पहरु बन्द गरेको जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गमा सञ्चालित पाँच वटा पेट्रोल पम्पमा समितिले हिजो अनुगमन गरेको थियो । सो क्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२, नयाँगाउँमा रहेको लम्साल आयल सप्लायर्समा ताला लगाइएको छ ।
उक्त पम्पले पाँच लिटर पेट्रोल बिक्री गर्दा ६५ एमएलसम्म थपेर उपभोक्तालाई दिने गरेको पाइएपछि सिल गरिएको गुणस्तर तथा नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले बताए । ‘कसैले पनि घाटा खाएर सामान वा सेवा बेच्दैन । सप्लायर्सले उपभोक्तालाई बढी परिमाणको पेट्रोल बेच्ने गरेको पाइयो । सप्लायर्सले मेसिन मिलाएको हुनुपर्छ’, उनले भने । तोकिएको परिमाणभन्दा कम वा बढी पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ ।
अनुगमन समितिका संयोजक एवम् जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सप्लायर्सको अन्य मापदण्ड पुगेको जानकारी दिए । तर पेट्रोल बिक्रीवितरणमा कैफियत देखिएकाले सिल गरिएको उनको भनाइ छ ।
तीन दिनभित्र स्पष्टीकरणसहित गुणस्तर तथा नापतौल कार्यालयमा उपस्थित हुन सञ्चालक पशुपति लम्साललाई लिखित निर्देशन दिइएको छ । ‘उनले के कति कारणले बढी पेट्रोल बेचेका रहेछन्, त्यो पर्सि थाहा भई हाल्छ । मेसिन बिग्रिएको रहेछ भने बनाएर सञ्चालन गर्न दिन्छौं’, उनले भने ।
टिप्पणीहरू