कान्तिपुरको आन्दोलनले साहुको घर घेर्ने खतरा

कान्तिपुरको आन्दोलनले साहुको घर घेर्ने खतरा

मुलुककै प्रमुख सञ्चारगृहका रुपमा स्थापित कान्तिपुर मिडिया ग्रुपका कर्मचारीहरु आन्दोलित भएका छन् । बिना सेवासुविधा श्रमजीवी पत्रकार र कर्मचारीलाई धमाधम जागिरबाट निकाल्न थालेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरुले विरोध जनाएका हुन् । 

खर्च कटौतीको नाममा कर्मचारीहरुलाई एक्लाएक्लै बोलाएर र फोन गरेर राजीनामा दिन लगाएको दावीसहित त्यहाँका ट्रेड युनियनहरुले प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई अल्टिमेटम दिएको बताइएको छ । 

लामो समयदेखि कान्तिपुरमा योगदान पुर्याएका पत्रकारहरुलाई ऐनबमोजिम कुनै सेवासुविधा नदिई जबरजस्ती राजीनामा दिन लगाउने कार्यप्रति ध्यानाकर्षण भएको युनियनले जनाएको छ । घाटाको बहानाबाजी गरेर ऐनले तोकेको उपदानसमेत नदिई खाली हात सेवाबाट निकाल्ने काम भइरहेको युनियनको आरोप छ । 

कान्तिपुरले श्रम अदालतले गरेको फैसलालाई समेत लत्याएर पत्रकारहरुलाई गलहत्याउने कार्य गरिरहेको उल्लेख गर्दै भनिएको छ, ‘एकातिर घाटाका नाममा ऐनले तोकेको उपदान र सेवासुविधा नदिई खाली हात जबरजस्ती निकाल्ने,अर्कोतिर श्रम अदालतले गरेको फैसला कार्यान्वयन नगर्ने, वितरण विभागका श्रमजीवीहरुलाई प्वाइन्ट मर्ज गरेर कटौतीका नाममा खाली हात गलहत्याउने कार्य कुनै हालतमा स्वीकार्य छैन’, पत्रमा उल्लेख छ । 

त्यस्तै,युनियनले पत्रकारहरुलाई तोकिएको सेवासुविधा तत्काल उपलब्ध गराउन, अदालतको फैसला कार्यान्वयन गर्न र ३० वर्षसम्म कान्तिपुरका नाममा साहुले कमाएको सम्पत्ति सार्वजनिक गर्न सात दिने अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र आफ्ना माग पूरा नभएमा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । 

पहिलो चरणको आन्दोलनमा सामाजिक सञ्जाल र मिडियाबाट कान्तिपुर मिडिया ग्रुपको भण्डाफोर गर्ने,हरेक प्रदेश कार्यालयमा धर्ना बस्ने,थापाथलीस्थित कार्यालय र कैलाश सिरोहियालगायत विभागीय प्रमुखहरुको घर घेर्ने, व्यवस्थापकहरुको फोटो राखेर प्लेकार्ड प्रदर्शन गर्ने,पाठक,श्रोता र दर्शकलाई कान्तिपुर बहिष्कारको आह्वान गर्ने जनाइएको छ । 

त्यसैगरी,पहिलो चरणको कार्यक्रमबाट पनि माग सुनुवाई नभएमा देशव्यापी रुपमा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने युनियनको चेतावनी छ । यता,श्रमजीवी पत्रकार संघ,नेपालले पनि उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने भएको छ । संघका अध्यक्ष जन्मदेव जैसीले पत्रकारहरुको जायज मागलाई बेवास्ता गरिए संयुक्त रुपमा संघर्ष गर्ने र त्यसबाट सिर्जित परिस्थितिको भागिदार स्वयं व्यवस्थापक हुने बताए ।
 

टिप्पणीहरू