पति र सौता पीडित देवीले १२ वर्षपछि पाइन् न्याय
सर्वोच्च अदालतले घरेलु हिंसा पीडित देवी ज्ञवालीको पक्षमा फैसला सुनाएको छ । घरेलु हिंसा,सम्बन्धविच्छेद, बहुविवाह र माना चामलका लागि कानुनी लडाइँ लड्दै आएकी उनलाई सर्वोच्चको आजको आदेशले केही हदसम्म भए पनि राहत दिएको छ । अदालत धाउँदाधाउँदै थकित भइसकेकी उनले १२ वर्षपछि न्यायको अनुभूति गर्न पाएकी छन् ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलाशले उनले दायर गरेको घरेलु हिंसासम्बन्धी मुद्दालाई सदर गरिदिएको छ । त्यस्तै,बहुविवाह र मानाचामलको मुद्दा पनि सदर भएको छ भने सम्बन्धविच्छेदमा भने उल्टीको फैसला आएको छ ।
उनी भन्छिन्,‘न्यायालयको ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै म थकित भइसकेकी थिएँ । सर्वोच्चको आजको आदेशपछि अलिकति भएपनि खुशी भएकी छु ।’ चितवनकी देवीको २०६२ सालमा रजिस्टर अडिटर शंकर ज्ञवालीसँग मागी विवाह भएको थियो । पढेलेखेको र राम्रै आम्दानी भएको केटा देखेर बाबुआमाले नाइँनास्ती गर्न सकेनन् र छोरीलाई शंकरको जिम्मा लगाइदिएका थिए ।
तर, विवाहपछि देवीले कहिल्यै सुःख पाइनन् । दिनदिनै श्रीमानको कुटाइ खानुपर्थ्यो । शंकरले गरेको व्यवहार सम्झिँदा उनको आँखाबाट अहिले पनि आँशु झर्छ । बियरको बोतलले टाउकोमा हान्दा सात वटा टाँका लगाउनुपरेको थियो ।
जे भेट्यो त्यसले हिर्काउने गर्दा एउटा सन्तानकी आमा देवीले अकल्पनीय दुःख पाइन् । श्रीमान दोस्रो विवाह गरेर रमाइरहँदा उनलाई छोराको चिन्ताले सताउँथ्यो । २०६८ सालदेखि न्यायको खोजीमा हिँडेकी उनको पक्षमा उच्च अदालत पाटनले यसअघि नै फैसला सुनाएको थियो । तर,पैसा र पहुँचको अगाडि न्यायालयको पनि केही लागेन ।
उच्चले थुनामा पठाउने आदेश गरेको थियो तर, शंकर र उनकी दोस्री श्रीमती रमा पन्थी जरिवाना तिरेर निस्किए । उच्चले माना चामलबापत आमा र छोरालाई मासिक १५/१५ हजार रुपैयाँ दिन आदेश दिएको थियो । तर, देवीले अहिलेसम्म एक सुको पनि पाएकी छैनन् । यता, शंकरले बारम्बार सम्बन्धविच्छेद गर्न चाहेका थिए । तर, देवीले मानेकी थिइनन् । हाल सबै मुद्दामा उनको जीत भएको छ र एक कान्छीबाट एक बच्ची जन्माइसकेका शंकरले जतिसुकै ढाँटे पनि अदालतबाट बहुविवाह ठहर भई एक एक बर्ष कैद सजायँ तोकिएको छ ।
टिप्पणीहरू