पशुपतिको जलहरी झिक्नुअघि ३ दिन क्षमापूजा
पशुपतिनाथ मन्दिरभित्र राखिएको सुनको जलहरी निकालेर धमाधम जोख्न थालिएको छ । सुनको ठाउँमा पित्तल राखेर भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि छानबिनको क्रममा आज जलहारी निकालेर मात्रा तौल गरिएको हो ।
आयोगका सम्बन्धित अनुसन्धान अधिकारी, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि,खानी तथा भूगर्भ विभागका अधिकृत र कोषका पदाधिकारीहरुको उपस्थितिमा आज अपराह्न ३ बजेदेखि सुन जोख्न थालेकोमा राति ११ बजे सकिने बताइएको छ । यसक्रममा जलहारीमा राखिएको सुन,चाँदी र तामाको मात्राको मिसावट पनि मापन गरिने छ ।
जलहारी उप्काउनुअघि बिहीबार,शुक्रबार र शनिबार ३ दिनसम्म क्षमापूजासमेत गरिएको थियो । १०८ केजीको सुनमध्ये झण्डै ११ किलो बदमासी भएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुमाथि आरोप लाग्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका तर्फबाट ३० करोड उपलब्ध गराएपछि कोषले आफ्नोतर्फबाट ५० करोड रुपैयाँ थपेर १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसपछि छोटो समयमा तयार पारिएको जलहरी हतार-हतारमा पशुपतिभित्र बिच्छाएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराइएको थियो ।
जलहरीमा प्रयोग भएको सुन र यसको परिमाणबारे संसदीय समितिले समेत विशेष चासो राखेको थियो । समितिले कोषका सदस्य सचिवलाई बोलाएर दुई साताअघि बयान लिएको थियो । अन्य पदाधिकारी र कर्मचारीसँग सोधपुछ गरेको बताइन्छ ।
टिप्पणीहरू