मन्दिर परिसरमा वडाध्यक्षको घर !

मन्दिर परिसरमा वडाध्यक्षको घर !

सम्पदा संवाददाता 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा रहेको सुशील भैरवथान मन्दिरको जग्गा जनप्रतिनिधिले नै कब्जा गरेको पाइएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष राजकुमार जोशीले ऐतिहासिक मन्दिरको जग्गा मिचेर आफ्नो घर ठड्याएको स्थानीयको आरोप छ । उनीसंँगै अन्य दुई घरधनीले पनि मन्दिरको जग्गा अतिक्रमण गरेको बताइएको छ । 

मन्दिरको स्ल्याब भएकै ठाउँमा घरको पेटी बनाइएको छ । उनको घरसँगै जोडिएको श्यामकुमार जोशी र प्रेम खाइँजुले पनि मन्दिरको जग्गा मिचेका हुन् । उनीहरुले मन्दिरको जग्गामा घरको सिँढी बनाएका छन् । छिमेकीले वर्षैंपिच्छे सिँढी बढाउँदा पनि वडाध्यक्ष जोशीले कारबाही नगरेका हुन् । ‘आफ्नो पनि त्यस्तै छ, अनि अरुलाई के कारबाही गर्नु ?,’ एकजना स्थानीयले आक्रोशित मुद्रामा भने । 

२०७४ सालको स्थानीय चुनावमा पनि निर्वाचित उनले त्यसअघि जग्गा दलाली गर्थे । उनको घर तीन आना दुई पैसा क्षेत्रफलमा बनेको छ । अन्य दुई घर दुई–दुई आनामा निर्माण भएको जनाइएको छ । तीन जनाले त्यहाँ एकैसाथ जग्गा किनेको स्थानीयको भनाई छ । भगवानको मूर्ति नजिकैबाट वडाध्यक्ष जोशीको घरको पेटी शुरु भएको देखिन्छ । 

जनप्रतिनिधि भएको फाइदा उठाउँदै उनले वडामा आफ्नो मनोमानी र हैकम चलाएको स्थानीयको अर्को आरोप छ । वर्षायाममा पानी निकासका लागि पञ्चायतीकालमा बनाइएको ठूलो कुलोलाई उनले ढलमा परिणत गरिदिएका छन् । भैरवको प्राङ्गणमा ढलको पाइप हालेपछि स्थानीयले चर्को विरोध जनाएका थिए । ‘तर, गैरकानुनी काम गर्ने नै वडाध्यक्ष भएपछि कसको के लाग्छ ?,’ जोशीका छिमेकीले भने ।

भीषण वर्षा भएको बेलामा त्यहाँ बस्नै नसक्नेगरी ढल गन्हाउने गरेको उनको अनुभव छ । यता, पानी जाने ठाउँ नभएकाले मन्दिर पनि चुर्लुम्मै डुबानमा पर्ने गरेको छ । स्थानीयले जति कराएपनि उनले ‘एउटा कानले सुन्ने र अर्को कानले उडाउने’ गर्दै आएका छन् । अहिले मन्दिर प्राङ्गणबाटै बाटो पनि खोलिदिएका छन् । 

आफ्नो सहजताका लागि उनले प्राङ्गणबाट बाटो खोलेको स्थानीयको आरोप छ । त्यहाँबाट गाडी आवतजावत हुँदै आइरहेको देखिन्छ । भैरवको फूलबारी मासेर सडक निर्माण गरिएको छ । कानुनले प्राचीन सम्पदाभन्दा अग्लो घर बनाउन नपाउने व्यवस्था गरेको छ । सुशील भैरवथानको मन्दिर तीन तला अग्लो छ भने वडाध्यक्ष जोशीले त्यसकै अगाडि पाँच तलाको घर ठड्याएका छन् । 

‘मन्दिरकै अगाडि ढुंगा छापेको ठाउँबाट वडाध्यक्षले पेटी बनाएका हुन् । उनको त्यो अगाडिको पेटी भत्काउने हो भने मन्दिरको स्ल्याब भेटिन्छ । दुई–तीन हात भित्रसम्म ढुंगा छ तर, के गर्नु जति कराएपनि लागेन । माथिल्लो निकायमा जाने सकेनौं । नियमन गर्ने ठाउँमा उही छ, अनि जे गरेपनि हुन्छ जस्तो गरिरहेको छ । सबैको मनमा यसले जग्गा मिचेको भन्ने छ, कसैले बोल्ने आँट गर्दैनन्’, खिउँजु थरका एकजना स्थानीयले भने । 

नगरप्रमुख वासुदेव थापाको संरक्षणमा वडाध्यक्ष जोशीले उक्त कार्यलाई निरन्तरता दिएको अन्य जनप्रतिनिधिको बुझाई छ । सूर्यविनायक नगरपालिकाका अधिकांश जनप्रतिनिधि एमालेबाट निर्वाचित हुन् । नगरप्रमुख थापा, उप–नगरप्रमुख सरिता तिम्सिना (भट्टराई) देखि लिएर गेटमा बस्ने पालेसमेत एमाले निकट रहेको ती जनप्रतिनिधिले भने । वडाध्यक्ष जोशी पनि सोही पार्टीका हुन् ।

‘जग्गा हडपेको बारेमा सबैलाई थाहा छ । नगरपालिकाका जनप्रतिनिधिहरु पनि जानकार छन् । तर, एउटै पार्टीको भएकाले उनीहरु चुप लागेका छन् । हामीले नगरपालिकालाई पटकपटक मौखिक जानकारी गराइसकेका छौं, हुन्छ हुन्छ भनिरहेका छन् । जनप्रतिनिधिले नै मन्दिरको अस्तित्व सखाप पार्न लागिसके । बर्खामा मन्दिर डुबानमा पर्छ । ढल गन्हाएर बसिनसक्नु हुन्छ । जसरी हुन्छ मन्दिर जोगाउनुपर्र्यो’, अर्का एक ढुङ्गेल थरका स्थानीयले भने । उजुरी गर्न जाने निकाय नै एक अर्कासँग मिलेपछि आफूहरुको केही नलागेको स्थानीयको गुनासो छ । 

आफूले जग्गा नमिचेको वडाध्यक्षको दाबी

वडाध्यक्ष जोशीले आफूले मन्दिरको जग्गा नमिचेको दाबी गरेका छन् । आफू कर्तव्य र कानुनपालक जनप्रतिनिधि भएको बताउँदै उनले सार्वजनिक सम्पत्ति हानीनोक्सानी हुने कुनै काम नगरेको ठोकुवा गरे । वडाध्यक्ष जोशीका अनुसार उनको घर २०६६ सालमा बनेको हो । त्यतिबेलाको मापदण्डअनुसार घर बनाइएकाले अहिले आएर प्रश्न गर्न नमिल्ने उनको जिकिर छ । ‘मैले राज्यलाई हानीनोक्सानी हुने एउटा पनि काम गरेको छैन । त्यतिबेला सम्बन्धित निकायले नक्सा पास गरिदियो, मैले घर बनाएँ । मन्दिरको जग्गा मिचेको भन्ने कुरा गलत हो’, उनले भने । 

सोही क्रममा वडाध्यक्ष जोशीले आफूले जग्गा नमिचेको र अन्य दुईले मिचेको भनेर गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । ‘मैलेचाँहि मिचेको छैन, मसँगै जोडिएका दुईटा घरले चाँहि मिचेको हुनसक्छ । उहाँहरुको त मेरो पेटीभन्दा अगाडिसम्म सिँढी छ’, वडाध्यक्ष जोशीले भने । यता, नगरप्रमुख थापाले यस विषयमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरपालिकाबाट अमिन लगेर चेकजाँच गर्ने बताए । पुर्जामाभन्दा बढी जग्गा हडपेर घर बनाएको पाइएमा वडाध्यक्षलाई कडाभन्दा कडा कारबाही गरिने उनको प्रतिबद्धता छ ।

स्थानीय सरकारकै मिलोमतो : दरबार हेरचाह अड्डा 

स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा, भक्तपुरले स्थानीय सरकारकै मिलोमतोमा सरकारी सम्पत्ति हिनामिना भएको गुनासो गरेको छ । जनप्रतिनिधिहरुले सार्वजनिक सम्पत्ति हेरचाह गर्नुको साटो मास्दै आएको अड्डाको भनाइ छ । अड्डाकी प्रमुख अरुणा नकर्मी ऐतिहासिक सम्पदाको स्वरुप बिगार्न नपाउने बताउँछिन् । सम्पदाको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै उनले भनिन्, ‘कतै जग्गा मिचिएको छ भने स्थानीयले त्यसको विरोधमा आवाज उठाउनुपर्छ । सम्बन्धित निकाय गुहार्नुपर्छ । अब हामीले मात्र सबैतिर हेरेर सम्भव हुँदैन ।’

घरको नक्सा पास गर्ने अधिकार आफूसँग भएको फाइदा उठाउँदै स्थानीय सरकारले गैरकानुनी काम गर्दै आएको उनको बुझाइ छ । सम्पदा संरक्षणको विषयमा अधिकांश स्थानीय तह लापरवाह भएकोमा उनले दुःखेसोसमेत पोखेकी छन् ।  ‘नक्सा पास गर्ने अधिकार स्थानीय तहसँग छ । कुन जग्गा हो, वरपर के छ ? भनेर त स्थानीय सरकारले हेर्नुपर्र्यो । जनप्रतिनिधिहरु नै त्यस्तै छन्, अनि कसरी हुन्छ सम्पदा संरक्षण ?’, उनले आक्रोशित हुँदै भनिन् ।

टिप्पणीहरू