जापानका कारण मानव र समुद्री जीवलाई डरलाग्दो जोखिम
जापानलाई आधुनिक विकाससँगै प्रकृति र पर्यावरणमैत्री मुलुकको रुपमा चिन्ने गरिन्छ । तर,हालैको एउटा समाचारले भने उसको उक्त छविलाई धुमिल गराउने निश्चित रहेको अन्तर्राष्ट्रिय समुदायको ठहर छ । आणविक विकिरणयुक्त दशौं लाख टन पदार्थ समुन्द्रमा फाल्न जापान कस्सिएपछि सर्वत्र चासो र चिन्ता थपिएको छ ।
सन् १९८६ को अप्रिल २६ का दिन तत्कालीन सोभियत संघअन्तर्गत युक्रेनी राज्यको उत्तरमा अवस्थित प्रिप्याट शहरनजिकै आणविक ऊर्जा केन्द्रमा भएको दुर्घटनाले विश्वमा तहल्का मच्चिएको थियो । उक्त केन्द्रको ४ नम्बरको रियाक्टरमा भएको दुर्घटनाका कारण धेरैको ज्यान गयो भने, वर्षौंसम्म धेरै सर्वसाधारणमा गम्भीर प्रकृतिका स्वास्थ्य संकट उत्पन्न हुन पुग्यो । त्यसका साक्षी र भुक्तभोगी अहिले पनि युक्रेनमा प्रशस्त छन् ।
त्यतिबेला उक्त घटनाले नेपालमा समेत ठूलो आन्दोलन गराएको थियो । नेपालले किनेको पाउडर दूधमा चेर्नोबिलको आणविक विकरण मिसिएको आशंकामा राजधानी काठमाडौं र बाहिरका जिल्लामा सर्वसाधारणले चर्को विरोध गरेका थिए । तत्कालीन पञ्चायतकालमा भएको उक्त आन्दोलनमा केशवराज पिँडाली, रुपचन्द्र विष्ट र हाल जनआस्था सम्पादक किशोर श्रेष्ठलगायत सैयौँलाई जेल हालिएको थियो ।
अहिले जापानले पनि चेर्नोबिल जस्तै विकिरणयुक्त नयाँ काण्ड निम्त्याउन लागेको भन्दै छिमेकी तथा विश्वका धेरै मुलुकले चिन्ता र गम्भीर चासो व्यक्त गरेका छन् । जापानले विकिरणयुक्त पदार्थ समुद्रमा विसर्जन गर्न खोजेपछि मानवस्वास्थ्य र सामुद्रिक जीवजन्तुको अस्तित्वमाथि नै संकट ल्याउने भन्दै विश्व समुदायले विरोध गरेको हो । उनीहरुको निश्कर्ष छ, ‘यसो गरिएमा आगामी ३० वर्षसम्म विकिरणको संकटबाट विश्व मानव समुदाय र सामुद्रिक जीवजन्तुहरु संकटमा पर्ने अवस्था छ ।’
सन् २०११ मा जापानको फुकुसिमा दाइची आणविक केन्द्रमा विकिरण चुहिएको थियो । त्यसबाट उत्पन्न रहलपहल (लेदो) प्रशान्त महासागरमा आगामी केही दिनभित्रै अर्थात जुलाईको पहिलो साता विसर्जन गर्न जापान कम्मर कसेर लागेपछि विश्व समुदायको चिन्ता र आक्रोश बढेको छ । एउटा मुलुकको एक पटकको गल्तीबाट विश्वका मानव समुदाय र सामुद्रिक जीवजन्तुले आगामी ३० वर्षसम्म लगातार कुप्रभाव भोग्नुपर्ने भएकाले पनि आक्रोश बढेको बताइन्छ । झण्डै १.३ मिलियन टन विकिरणयुक्त पदार्थ समुन्द्रमा विसर्जन गर्दा यसले समुद्र र सम्पूर्ण जीवमा पार्ने असरबारे कल्पना पनि गर्न नसकिने अवस्था उत्पन्न हुनेछ । यसले मानव स्वास्थ्यमा डरलाग्दो समस्या उत्पन्न गराउने निश्चित छ ।
जापानको पछिल्लो सम्भावित कदमप्रति फिलिपिन्स,रुस र चीनले चर्को विरोध गरेका छन् । तर जापान आफ्नो अडानमा अगाडि बढेको बताइन्छ । जापानको घनिष्ठ राजनीतिक मित्र दक्षिण कोरियाले पनि आफ्नो चिन्ता सार्वजनिक गरिसकेको छ ।
जापानले यसो गर्न खोज्नु संयुक्त राष्ट्र संघमा पारित सामुद्रिक प्रयोगसम्बन्धी कानुनको प्रतिकूल पनि हो । यसबाट अन्य मुलुकमासमेत विकिरणको प्रदुषण फैलाउन खतरा झन् बढ्ने छ । सँगसँगै वातावरण र पर्यावरणमा नसोचेको दुष्प्रभाव पर्ने निश्चित छ । तर पनि जापानले ती पदार्थ समुद्रमा विसर्जन नगरी नछाड्ने बताइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले विसर्जनको वैज्ञानिक विधि,भरपर्दो माध्यम र सुरक्षित वातावरणको सुनिश्चितता दिएर अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने हो ।
सन् २०११ को भूकम्पपछि आएको सुनामीले फुकुसिमा आणविक केन्द्र ध्वस्त बनाउँदा विकिरण चुहिएको थियो । अहिले त्यसैलाई समुद्रमा विसर्जन गर्न लागिएको हो । सुरक्षित र भरपर्दो तरिकाले व्यवस्थापन नगरी करोडौं डलर बचाउने उपायको रुपमा जापानले समुद्रमा त्यस्तो लेदो फाल्ने प्रयास गरेको कतिपय वातावरणविद्को भनाई छ ।
यसअघि उक्त दुर्घटना र चुहिएको विकिरणबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्र (आइएइए) ले निगरानी प्रतिवेदन तयार गरेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले आइएइएको रिपोर्ट अपारदर्शी रहेको गुनासो गर्दै आएको छ । यस्तो अवस्थामा विकिरणयुक्त पदार्थको सुरक्षित व्यवस्थापनको उपाय के हुनसक्छ ?
विज्ञहरु भन्छन्, ‘जमिनभित्र निकै गहिरो खाडल खनेर पाताल पुर्याउने सबैभन्दा राम्रो उपाय हो । अर्को बाफ बनाएर आकाशमा छाडिदिने । त्यसैगरी हाइड्रोजन ग्यासको रुपमा आकाशमा छाडिदिने । तर यो प्रविधि निकै खर्चालु हुने भएकाले जापानले यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।
उसले यसबारे अध्ययन गर्न एउटा प्रतिनिधिमण्डल गत मेमा फुकुसिमामा नै पठाएको थियो । गत वर्ष अमेरिकी मरिन ल्याबरोटोरिज भर्जिनियाले यसतर्फ गम्भीर चिन्ता र चासो जनाएको थियो ।
जापानले प्रशान्त महासागरको तीन किलोमीटर क्षेत्रमा विकिरणयुक्त लेदो फाल्ने तयारी गरेको हो । सन् २०११ को भुईंचालोपछि आएको सुनामीले स्थानीय घरबार र जनजीवन ध्वस्त भएको थियो ।
आणविक ऊर्जा केन्द्रमा पुगेको क्षतिबाट विकिरणयुक्त लेदो निस्कियो । त्यसलाई एक हजारभन्दा बढी स्टिलका ट्यांकरमा जम्मा गरेर राखेको बताइन्छ । त्यसैलाई अहिले समुद्रमा फाल्न खोजिएको हो ।
टिप्पणीहरू