भ्रष्टाचारको आरोप लागेका कर्मचारीसँग डेढ करोड मागदाबी, दुईवटी श्रीमती पनि फन्दामा
सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ बिगो मागदाबी गर्दै आज मुद्दा दर्ता गरिएको छ ।
बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्र २०५७ असार ८ गते निजमती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ कात्तिक २६ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ स्रोत नखुलेको जानकारी दिएको छ ।
मिश्रले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति सगोलकी पत्नीहरु सरोजकुमारी र तुलसीकुमारी मिश्रको नाममा राखेको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम सरोजकुमारी र तुलसीकुमारीलाई पनि प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरेको छ ।
टिप्पणीहरू