मेयरको कार्यकक्ष बाहिर फोहोरको डंगुर
अमर खत्री
बजारमा थुप्रिएको फोहोरको दुर्गन्धले आजित भएका स्थानीयले नगरपालिका कार्यालय परिसरमा लगेर फोहोर मिल्काइदिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरका बजारवासीले फोहोर व्यवस्थापन गर्न नसकेको नगरपालिकालाई सबक सिकाउन यस्तो कदम उठाएका हुन् ।
जिल्लाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरबाट संकलित फोहोर नगरपालिकाले उचित व्यवस्थापन नगर्दा बजार क्षेत्र दुर्गन्धित बनेको छ । दुर्गन्धका कारण बाध्य भएर यस्तो गर्नुपरेको स्थानीयको भनाई छ । लामो समयसम्म फोहोर नउठ्दा दुर्गन्ध बढेर महामारी फैलिने खतरा हुँदा समेत बेवास्ता गर्ने नगरपालिकालाई झकझकाउन मेयरको कार्यकक्ष छेवैमा लगेर फोहोर फालेर सांकेतिक विरोध जनाइएको स्थानीय बताउँछन् ।
फोहोर व्यवस्थापनका लागि पटक–पटक कुरा राख्दा कर्मचारीले नसुनेको र जनप्रतिनिधिले अनुहारसमेत नदेखाएको उनीहरुको गुनासो छ । ‘अत्याधुनिक प्रविधि बायोटेक्नोलोजी ल्याएर फोहरलाई मोहरमा रुपान्तरण गर्न सकिन्थ्यो’ एक स्थानीयले भने, ‘तर नगरपालिकाले फोहर व्यवस्थापनलाई गम्भीरताका साथ लिएन, अनि हामीहरुले बाध्य भएर नगरपालिका अगाडि फोहोर थुपार्यौं ।’
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट नगरपालिकाले फोहोर मैला व्यवस्थापन गरिरहेको दाबी गर्दै नगर कार्यालयमा लगेर फोहोर थुप्रार्नेलाई कारबाही गर्ने बताए । बजारवासीले उल्टै फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्दै बजारको फोहोर नगरपालिका परिसरमा फालेको उनको आरोप छ ।
‘हामीले अल्पकालीन र दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिरहेका छांै, आज पनि फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीले काम गरिरहेका थिए’, उनले भने, ‘तर केही अराजक समूहले उनीहरुमाथि दुर्व्यवहार गरि नगरपालिका परिसरमा फोहोर फालेको छ । यसरी फाल्नेलाई कानुनी कारबाही गर्नेछौं ।’
नगरपालिकाले फोहर व्यवस्थापन गर्न गाडी र आधा दर्जन कर्मचारी भर्ना गरेको छ । तर, फोहोर उठाउने कर्मचारी महिनाको एक दिनमात्रै आउने र उठाइएको फोहोर पनि बजार नजिकैको रुक्साल खोलामा फाल्ने गरेको स्थानीय बताउँछन् । फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा नगरपालिका टालटुले पारामा चलेपछि विगतमासमेत स्थानीयले पटक–पटक कुरा उठाउँदै आएका थिए ।
बजारमा दैनिक जम्मा हुने फोहोर कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने टुंगो नहुँदा पटक–पटक यस्तो समस्या दोहोरिने गरेको स्थानीय बुद्धिजीवीहरुको बुझाइ छ ।
सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै चमेलिया नदी प्रदूषित भइरहेकोप्रति आक्रोशित स्थानीयले मेयरको कार्यकक्ष बाहिर फोहोर मिल्काइदिएका हुन् ।
टिप्पणीहरू