भ्रष्टाचारको दलदलमा भूमि राजस्व कार्यालय
-रतिशकुमार
नेपालका भूमि राजस्व कार्यालयहरु सबैभन्दा धेरै भ्रष्टाचारको दलदलमा फसेको पाइन्छ । जति सुधार गरेपनि ती कार्यालयमा भ्रष्टाचारसँगै न्यून कार्यक्षमता र अपारदर्शिता यथावत छ । भूमि मातहतका निकायका कर्मचारीहरु घुस काण्डमा पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ । मालपोतका कर्मचारीले घुस लिएको, अनुग्रह मागेको र कीर्ते गरी सरकारी जग्गा हिनामिना गरेको समाचारहरु पनि निरन्तर बाहिर आइरहेका छन् ।
मालपोतमा कार्यरत धेरैजसो कर्मचारीलाई जग्गाको विषयमा राम्रो ज्ञान नै नभएको एकथरिको भनाई छ । यस कारण पनि सेवाग्राहीलाई स्तरीय सेवा लिन सास्ती भएको बताइन्छ । जग्गा दर्ता होस् या अन्य कुनै जग्गासम्बन्धी काम सजिलै सम्पन्न नहुने, झमेला उत्पन्न हुने अवस्थाले उक्त आरोपलाई पुष्टि गरेको हो ।
कर्मचारीहरु प्राप्त आवेदन सरकारी ‘प्रोसेस’ मा लैजाने भन्दै लामो समय टार्छन् । त्यस्तै, अपारदर्शिता मालपोतमा देखिने सबैभन्दा जटिल समस्या हो । भूमि राजस्व अभिलेखहरु अद्यावधिक नगरिएकाले पुराना विवरण भद्रगोल अवस्थामा छन् ।
यी सबै अवस्थाले आम नागरिकलाई भूमिसम्बन्धी जानकारी लिन हम्मेहम्मे पर्ने गरेको हो । सरकारी निकायले भूमि अधिकारबारे आम नागरिकलाई स्पष्ट पार्नसमेत नसकेको अवस्था एकातिर छ । सरकारले यीलगायत समस्यालाई मध्यनजर गर्दै सन् २०१७ मा ‘भूमि राजस्व सूचना व्यवस्थापन प्रणाली’ नामक कार्यक्रम सार्वजनिक गर्यो । यसले भूमिसम्बन्धी समस्या समाधान गर्ने अपेक्षा राखिएको थियो । तर, यसको प्रभावकारिता शून्य देखिन्छ ।
भूमि अभिलेखलाई थप पहुँचयोग्य बनाउन र भ्रष्टाचार कम गर्न डिजाइन गरिएको प्रणाली कार्यान्वयनमा जान सकेको छैन । यता, कोभिड–१९ ले मालपोत कार्यालयलाई थप शिथिल बनाएको छ । अधिकांश मालपोत बन्द भएका छन् भने कतिपयमा कर्मचारी घटाइएको छ । यसबाट सर्वसाधारणले सेवा प्राप्त गर्न थप समय बिताउनुपर्ने अवस्था सिर्जना भएको छ ।
भूमिसम्बन्धी समस्या निराकरण गर्न सरकारले उक्त कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजानुपर्ने र कार्यालयहरुमा विज्ञ तथा क्षमतावान कर्मचारी थप गर्नुपर्ने प्रशासन विज्ञहरुको बुझाई छ । आम नागरिकमा भूमि अधिकारको चेतना देखिँदैन । त्यसैले सरकारले जनचेतना फैलाउने विभिन्न कार्यकम ल्याउन पनि उत्तिकै जरुरी छ । भूमि व्यवस्थापनमा संलग्न विभिन्न सरकारी निकायबीच समन्वयको अभाव छ । यी समस्यालाई हटाउन सके मालपोतको कार्यसम्पादनमा सुधार आउने निश्चित छ ।
(प्रशिक्षार्थी)
टिप्पणीहरू