चित्रबहादुर भन्छन् : जनता ठग्नेलाई कडा कारबाही गर्नैपर्छ

चित्रबहादुर भन्छन् : जनता ठग्नेलाई कडा कारबाही गर्नैपर्छ

माइतीघर मण्डलामा सहकारी पीडितहरू आन्दोलनमा बसेको चार साता भइसकेको छ । यसप्रति नेताहरूको पनि ध्यानाकर्षण हुन थालेको छ । हजारौं सहकारी सदस्यहरूलाई ठगेर सहकारी सञ्चालक भागेपछि बिचल्लीमा परेकाहरु धर्नामा बसेपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी धर्नास्थलमा पुगेका छन् ।

सहकारीको नाममा धेरै जनता ठगिएकाले पूर्वउपप्रधान एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले ठगहरुलाई तत्काल कारबाहीको माग गरेका हुन् । एक महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसिरहेका देशभरका सहकारी पीडितहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका केसीले २०७३ सालमा आफू सहकारीमन्त्री हुँदा यसको कथाव्यथा सबै बुझेको बताए ।

सहकारी ठग्नेहरूलार्ई सरकारले छोड्न नमिल्ने, जनताको पैसामा हेलिकप्टर चढ्ने ठगहरूको असली रूप देखिएको भन्दै उनले सहकारी पीडितहरुको पक्षमा आफू रहेको जानकारी दिएका छन् । उनले भने, ‘सहकारी सञ्चालकहरू सांसद बनेका छन् । कतिपय ठाउँमा मन्त्रीसमेत भएका छन् । जनतालाई बढी ब्याजको लोभ देखाएर ठग्ने काम गरेकाले ती ठगहरूलाई राज्यको संरक्षणका कारण अहिले समस्या आएको हो । सरकारले चाहेको खण्डमा सहकारी पीडितको माग पूरा हुन्छ ।’ केसीले बागलुङका हजारौं जनताको अरबौ रकम ठगेर हिँडेकालाई प्रहरी प्रशासनले संरक्षण गरेकाले भाग्न सफल भएको बताए ।

काठमाडौंको ओरेन्टल सहकारी, कान्तिपुर सहकारी, देउराली सहकारी, खुशी सहकारी, इमेज बतत तथा ऋण सहकारी, शिवशिखर सहकारीलगायत तीन दर्जनभन्दा बढी सहकारी पीडितहरू जेठ २० गतेदेखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । सहकारी अनुगमन एवम् नियमन गर्ने निकायले समयमै कारबाही नगर्दा सहकारीप्रति जनताको विश्वास धरमराउन थालेको बताइन्छ ।

टिप्पणीहरू