रुपन्देहीका सर्वसाधारणले शान्ति महशुस गर्लान् ?

रुपन्देहीका सर्वसाधारणले शान्ति महशुस गर्लान् ?

सीमावर्ती सहर भैरहवामा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न जिल्ला सुरक्षा समिति नै असफल भइरहेको चर्चा चलिरहेको बेलामा रुपन्देही प्रहरीले आंशिक सफलता प्राप्त गरेको छ ।

गत वैशाख १ गते जिल्लाको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गर्दै राखिएको बमबाट शुरु भएको घटना  व्यवसायी भैरव कलबारको घर पर्खालमा गराइएको बम  विस्फोटले सिलिसिला लिएको हो । लगत्तै अर्का व्यवसायी श्याम अग्रवालको घरमा भएको डकैतीले भैरहवामा सर्वसाधारण आतंकित भएका हुन् ।

जिल्लाको अपराधिक घटनाको विश्लेषण गर्दै जनआस्थामा ‘रुपन्देहीमा बढ्यो सुरक्षा थ्रेट ?’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।  उक्त समाचारलगत्तै गृह मन्त्रालय र प्रहरी हेडक्वार्टरबाट समेत जिल्लाको शान्ति सुरक्षा समितिको काम कारबाहीमाथि प्रश्न उठाइएपछि डिआईजी उमेश जोशी नै घटनाको अनुसन्धानमा आफैँ खटिएको बताइन्छ । डिआईजी जोशी र जिल्लाका एसपी भरत विश्वकर्माको लामो समयपछि केमिस्ट्री मिलेपछि रुपन्देहीको क्राईम सेक्टरमा काम गर्ने टोली अपराधमा संलग्नता भएको अभियोगमा केही व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । 

पक्राउ पर्नेमा सियारी गाउँपालिका ४ बस्ने २७ वर्षका अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका ३ बस्ने २२ वर्षका सुरज लोहार र सोही पालिकाका २४ वर्षे सुरज थारुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख भरत विकले जानकारी दिए ।

वैशाख १ गते सियारी गाउँपालिका ४ स्थित सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसर कुकर बम भेटिएकोमा नेपाली सेनाको विशेष टोलीले निस्क्रिय पारेको थियो । यसैगरी असार १ गते राति साढे २ बजेको समयमा भैरवप्रसाद कलवारको शिवम् इम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) बाहिरको कम्पाउण्डमा प्रेसर कुकर बम विष्फोट भएको थियो । 

दुवै घटनामा  मधेश पिपुल्स पार्टीको तर्फबाट फोनमा फिरौती रकम माग गरेर धम्की दिएको खुल्न आएको छ । स्रोतका अनुसार कलवारसँग २० करोड रुपैयाँ मागिएको थियो । मधेश पिपुल्सको नाम जोडिएपनि उक्त पार्टीको गतिबिधि कहिँकतै देखिएको छैन ।

 
रुपन्देहीको जिल्ला प्रहरीले इमानदारितापूर्वक काम गरेपनि टिमलाई सही ढङ्गले परिचालन र व्यवस्थापन गर्न नसक्दा अपराधपछिको अनुसन्धान प्रभावकारी हुन नसकेको प्रहरी अधिकृतहरु नै बताउँछन् । तीमध्येका एकजना भन्छन, ‘एसपी सापले अहिलेसम्म दायाँबायाँ गरेको थाहा छैन । तर विश्वास पनि कसैलाई गर्नुहुन्न । टिम परिचालन हुन नसकेपछि यो अवस्था आइपरेको हो । यति ठूलो जिल्लामा भरपर्दाे सूचना संकलन गर्ने टिम छैन ।’

हाल जिल्ला सुरक्षा समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले छ वर्षअघि बुटवल उपमहानगरको कार्यकारी अधिकृत समेत भएर काम गरेका थिए । यसरी रुपन्देहीमा विभिन्न भूमिकामा रहेर काम गरेपनि उनको नेतृत्वमा रहेको सुरक्षा समिति कमजोर हुँदै गएपछि बजारमा अनेक हल्ला चल्न थालेको हो ।

यो पनि..

१.रुपन्देहीमा सुरक्षा थ्रेट बढेकै हो ?

टिप्पणीहरू