बबरमहलमा दिनहुँ मीटरब्याज पीडित र पीडकबीच तानातान

बबरमहलमा दिनहुँ मीटरब्याज पीडित र पीडकबीच तानातान

मीटरब्याजी पीडितहरुले गत चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । पूर्वदेखि पश्चिमसम्मका विशेषगरी तराई र मधेशका जिल्लामा बढी देखिएको मीटरब्याजको समस्या समाधानका लागि विभिन्न समूहले राजधानीका माइतीघर, रत्नपार्कमा आन्दोलन गर्दै आएका छन् ।

सबैभन्दा पहिले गत चैत महिनामा महोत्तरीको बर्दिबासबाट बालबालिका बोकेर गृहिणीहरु पैदल यात्रामा काठमाडौं आएका थिए । त्यसपछि सरकारले विशेष ध्यान दिन थालेको भनिएको उनीहरुको समस्या बोक्दै विभिन्न समूहले राजधानीमा जुलुस, धर्ना गर्दै आएका छन् ।

सोही क्रममा हालसम्म काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मीटरब्याज पीडितहरुको तर्फबाट झण्डै पाँच सय वटा निवेदन परेको जनाइएको छ । ‘हालसम्म ४८३ वटा निवेदन परेको छ । गत शुक्रबारसम्म सोही विषयमा  ४६ वटा छलफल भइसकेको छ,’ जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

हालसम्म भएका छलफलबाट नौ वटामा पीडक र पीडितबीच मेलमिलाप भइसकेको छ । त्यसमध्ये चार जनाले निवेदन फिर्ता लिएको बताइन्छ । उनीहरुले ‘जीवन र जगत बुझ्यौं, एक दिन मर्नुपर्ने रहेछ’भन्दै मेलमिलाप गरेका हुन् ।

नौमध्ये चार वटा निवेदन फिर्ता भएको छ भने पाँच वटामा मिलेर जाने सहमति भएको बताइन्छ । हालसम्मको छलफललाई हेर्दा सफलताको दर २० प्रतिशत नाघेको जिल्ला प्रशासन कार्यालयको बुझाई छ । 

निवेदन परेकामध्ये पनि अदालतमा ११ वटा मुद्दा विचाराधीन भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट छलफलको निम्ति दुवै पक्षका १० समूहलाई बोलाउने गरिएको छ । बोलाइएकामध्ये कम्तीमा सात र बढीमा आठ वटामा छलफल हुने गरेको देखिएको छ ।

टिप्पणीहरू