स्थानीय सरकार र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको व्यवसायीहरुको आरोप
महोत्तरीको बर्दिबासमा चोरीका घटना बढेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । शृंखलावद्ध चोरी बढ्न थालेपछि बर्दिबास उद्योग वाणिज्य संघले आज आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले स्थानीय सरकार र प्रहरी प्रशासनको भूमिकालाई लिएर आलोचना गरेका हुन्।
संघले आज ‘अपराधिक गति नियन्त्रणका लागि स्थानीय सरकार प्रशासन तथा सरोकारवालासँग अन्तरक्रिया' कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा व्यवसायीहरुले सुरक्षा व्यवस्था निकै फितलो हुँदा श्रृङ्खलाबद्ध रुपमा चोरी बढेको भन्दै स्थानीय सरकार र प्रहरी प्रशासनको भूमिकामाथि औंला उठाए । उनीहरुले चोरी नियन्त्रणमा सम्बन्धित निकाय कमजोर रहेको भन्दै चर्को आलोचना गरे ।
मुख्य चोक र गल्लीहरुमा सीसीटिभी नहुँदा र सुरक्षा निकायले तदारुकता नदेखाउँदा अपराधिक क्रियाकलाप बढेको आरोप व्यापारीहरुले लगाएका थिए । ‘शान्ति सुरक्षा कायम गर्ने विषयमा स्थानीय सरकार कमजोर छ भन्ने त स्पष्ट भइसकेको छ । अब हामीले नै सुरक्षा मापदण्डमा ध्यान दिनुपर्ने भएको छ’, व्यापारी विनोद भण्डारीले भने ।
त्यस्तै, संघका अध्यक्ष विष्णु खड्काले अपराध नियन्त्रणका लागि सीसीटिभी जडान गर्ने तयारी भइरहेको जानकारी दिए । स्थानीय सरकार र प्रहरी प्रशासनले केही गर्न नसकेको उल्लेख गर्दै उनले संघले नै सीसीटिभी जडान गर्न लागेको बताएका हुन् ।
पछिल्लो समय बर्दिबासमा एकदमै धेरै चोरीका घटना घटिरहेका छन् । विगत तीन महिनामा दर्जन बढी पसलमा चोरी भएको छ । त्यस्तै, तीन दिनअघि मात्रै दुईटा सुन पसलमा लाखौं रुपैयाँको चोरी भएको थियो । आज भएको कार्यक्रममा बर्दिबास नगरपालिकाका पदाधिकारी, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू