एमाले सचिवमाथि वायुसेवा निगम मास्ने प्रपञ्च रचेको आरोप
पूर्वमन्त्री तथा एमाले सचिव योगेश भट्टराईमाथि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुँदा उनले नीतिगत निर्णय गरेर निगमलाई कमजोर बनाउन खोजेको त्यहाँ क्रियाशील ट्रेड युनियनहरुले आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा भट्टराईले हालै दिएको अभिव्यक्तिको खण्डन गर्दै नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले अहिले निगम आर्थिक रुपले सुदृढ हुँदै गएकोसमेत दाबी गरेको छ । पूर्वमन्त्री भट्टराईले थला पर्न लागेको वायुसेवा निगममा कर्मचारी भर्ति गर्नु ‘आमाको रगत खाए’ जस्तै हुने टिप्पणी गरेका थिए ।
आज विज्ञप्ति जारी गर्दै युनियनले भट्टराईको उक्त अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित रहेको भन्दै निन्दासमेत गरेको छ । ‘निगमको कर्मचारी संख्या र भूमिस्थ सेवाको सम्बन्धमा माननीयज्यूले दिनुभएको गलत तथा भ्रामक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै यस्ता गलत एवम् कपोलकल्पित कुरामा नलाग्न यस ट्रेड युनियन हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कोराना महामारीपछि पर्यटन क्षेत्रले पुरानै लय समातेको अवस्थामा नेपाल भित्रिने यात्रु र उडान संख्या वृद्धि भएको जनाउँदै विज्ञप्तिमा निगमले आफ्नो वित्तीय अवस्था सुदृढ पार्दै लगेको उल्लेख छ । निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आएको स्पष्ट पार्दै उडान संख्यामा वृद्धि हुँदा निगमलाई आवश्यक पर्ने जनशक्ति अभाव भएको पनि जनाइएको छ ।
भूमिस्थ सेवाको उचित प्रबन्ध र व्यवस्थापन अन्तर्राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट तथा विश्वव्यापी अभ्यासअनुसार राष्ट्रिय ध्वजावाहक निगमकै जिम्मेवारीभित्र रहने विषय रहेको र यसबारे सेवाग्राहीसमेतले सह्राना गरेको युनियनको भनाई छ ।
भट्टराईकै कार्यकालमा निगममा बेथिति मौलाएको पनि ट्रेड युनियनको दाबी छ । आफू पर्यटनमन्त्री भएका बेला उनले सरोकारवाला निकायसँग कुनै परामर्श नै नगरी अर्को कम्पनीलाई ग्राउण्ड ह्यान्डलिङ दिने जस्तो गम्भीर विषयमा एकलौटी ढंगले मनोमानी निर्णय गरेको र नागरिक उडड्यन प्राधिकरणको निर्देशिकामा नै समावेश गरेर वायुसेवा निगमलाई मास्न खोजेकोमा त्यतिबेलै आपत्ति जनाएको पनि युनियनले स्मरण गराएको छ ।
त्यस्तै, कोरोना महामारीका बेला नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने नाममा त्यतिबेलाका मन्त्री भट्टराईको ठाडो निर्देशनमा नेपाल वायुसेवालाई कम चार्टर उडान र अरुलाई बढी उडानको अनुमति प्रदान गरेर निगमलाई थप आर्थिक भार पार्ने प्रपञ्च रचेको पनि विज्ञप्तिमा उल्लेख छ ।
भट्टराईकै कार्यकालमा निगमले यस्ता यावत विषयवस्तु झेल्नुपरेको भन्दै अहिले कर्मचारी संख्या र भूमिस्थ सेवाको सम्बन्धमा उनको धारणा गलत एवम् कपोकल्पित रहेकाले त्यसमा विश्वास नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
टिप्पणीहरू