शताब्दी घरमा अक्षरयात्रीको काव्यमेला सम्पन्न

शताब्दी घरमा अक्षरयात्रीको काव्यमेला सम्पन्न

-राजेशचन्द्र राजभण्डारी

‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा सञ्चालित यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम अक्षरयात्राको द्विशतक श्रृंखला फरक पर्वत कुश्मास्थित शताब्दी घरमा सम्पन्न भएको छ ।

कालीगण्डकी बचाऔँ अभियान एवम् कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएको बताइन्छ । शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक श्रृंखला कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्ध कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बीचमा प्रगाढ़ सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नी प्रातःस्मरणीय माताको सम्झना गरे । आफू ३ वर्षको हुँदा आमाको देहान्त भएको र यही कालीगण्डकी नदीमा दाहसंस्कार भएको स्मरण गराए । १३ वर्षकोे उमेरमा उक्त नदी हेर्न आएको बताएर सबैलाई भावुक बनाइदिए ।

श्रेष्ठले अभियन्ता आरके अदीप्त गिरी कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सतिसाल झैं उभिएको प्रशंसा गरे । राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस रहेको विचार व्यक्त गर्दै कला र संस्कृतिले देश र समाजको आवाजलाई मुखरित गर्नुपर्ने विचार श्रेष्ठको थियो ।

उनले भने, ‘कला मनोरञ्जनका लागि मात्र नभएर जीवनका लागि पनि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो ।’ श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गरेका थिए ।

परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सीरहेका छौँ । त्यही हामीले भुल्दै, बिर्सिंदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्नस्वरुप आफूले कुश्मा कला परियोजनाको परिकल्पना गरेको संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले बताए । सोही संस्थाले फरक आवश्यकता महशुस गर्दै शताब्दी घरको परिकल्पना गरेको हो ।

‘हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिरहेका छौं । विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार, संरक्षण–संवद्र्धन गरिनु अहिलेको प्रमुख आवश्यकता पनि हो’ गिरीले बताए ।

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले जीवनमा तीन सय वर्षभन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो पटक सहभागी भएकोमा फरक अनुभूतिको उल्लेख गर्दै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन् ।

बाहिर झम् झम् असारे झरी परिरहेको थियो भने शताब्दी घरको माथिल्लो तल्लामा सञ्चालित कार्यक्रममा ८५ वर्षे साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाइरहे । प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सञ्जीव पौडेलले समसामयिक विषयमा आआफ्ना धारणासहित रचना वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरु एनपी घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठीलगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर स्थानीयरुपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल प्रस्तुत गरेका थिए ।

शताब्दी घर तथा कुश्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा सञ्चालित कार्यक्रममा साहित्यकार एवम् रंगकर्मी प्राञ्जलले कार्यक्रम सञ्चालन गरेका थिए ।

टिप्पणीहरू