राजस्वको नाममा चौधरीद्वारा राष्ट्र बैंकमाथि प्रहार

राजस्वको नाममा चौधरीद्वारा राष्ट्र बैंकमाथि प्रहार

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोदकुमार चौधरीले सरकारको राजस्व कम उठेकोमा प्रश्न उठाएका छन् । बेलाबखत  राजस्व र कर छलीका समाचारसँग जोडिने गरेका चौधरीले आज संसदमा कम राजस्व उठेकाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रहेको बताएका हुन् ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले भने, ‘असार १७ गतेसम्म ९ खर्बको हाराहारीरमा मात्रै राजस्व संकलन भएको छ ।  तर सरकारको साधारण खर्च १० खर्बभन्दा बढी भएको देखिन्छ । यसले परिस्थिति गम्भीर हुँदै गएको देखाउँछ ।’

उनले सरकारले नै अर्थतन्त्र चलायमान बनाउन नसकेको बताउँदै अर्थमन्त्रीलाई अर्थतन्त्र चलायमान बनाउनेतर्फ विशेष ध्यान दिन सल्लाह दिएका छन् । जबकि अर्थमन्त्री डा. प्रकाशशरण महत उनकै पार्टीका हुन् ।

सँधै राष्ट्र बैंकप्रति चोर औंला उठाउने चौधरीले आज अर्थ मन्त्रालयतर्फ त्यो औंला ठड्याएका छन् । ‘राष्ट्र बैंकले आयात प्रतिबन्ध खोले पनि आयात बढ्न सकेन । यसले समग्र अर्थतन्त्र चलायमान हुन सकेन । यसबाट मुलुकभित्र लगानी बढ्न नसकेको हो ।’

उनै चौधरी हुन् जसले नेपालबाट गरेको लगानीलाई विदेशी लगानीको जामा भिराएर नबिल बैंकको लाभांशवापत वार्षिक दशौं लाख डलर ढाका हुँदै अन्यत्र लैजाने गरेका छन् । उनले विदेशमा कराडौं डलर लगानी गर्दै आएका छन् तर, नेपालबाट उक्त रकम लगेको हालसम्म देखाएका छैनन् । जबकि नेपालबाट विदेशमा लगानी गर्न पाईंदैन ।

हालै मात्र उनले सिजी सिमेन्टमा गरिएको १२ करोडभन्दा बढीको लगानीलाई वैदेशिक स्रोत देखाउने अनेक प्रयास गरेका थिए । उनको त्यो ‘असफल’ फाइल नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा अलपत्र छ । आज उनैले संसदमा वैदेशिक लगानी र राजस्व संकलनमा साखुल्य बनेर पण्डित्याईं छाँटेका हुन् ।

नबिल बैंकमा सबैभन्दा धेरै नेपाली लगानी रहेको चौधरी ग्रुपका मालिकले बैंकको सिडी रेसियोबारे पनि बोलेका छन् । ‘अहिले बैंकहरुसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा झरेको छ । यस्तो रेसियो न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरुले ऋण दिन सकिरहेका छैनन् ? बैंकहरुसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ? के हो राष्ट्र बैंकको नीति ?’

आगामी वर्षको मौद्रिक नीतिबारे तर्जुमा भैरहेको बेलामा चौधरीले संसदमा जनप्रतिनिधिको तर्फबाट बोलेको बताइए पनि उनले अप्रत्यक्ष रुपमा आफ्नो व्यवसाय र व्यापारिक संस्थाको स्वार्थमा धारणा राखेका हुन् । उनी गत आमनिर्वाचनमा विजयी भएको नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का जनतालाई अलि पहिले धानको बिऊ,अहिले सिन्चाइ र अब अर्को महिना रासायनिक मल चाहिएको छ । त्यसबारे उनको मुखबाट संसदमा कहिल्यै एक शब्द निस्कने गरेको छैन ।

टिप्पणीहरू