अवैध उत्खनन रोक्न गएकी महिलामाथि वडाध्यक्षको हातपात
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकाश राउतले स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समय अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठमाथि वडाध्यक्ष राउतले हातपात गरेको आरोप लागेको छ ।
स्थानीय छिडी खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । वर्षाको समय खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन् ।
वडाध्यक्ष राउतले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको दाबी छ । चौदण्डीगढी नगरपालिकाको प्रवक्तासमेत रहेका राउत गत निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
टिप्पणीहरू